एजेन्सी । गाजामा मंगलबार रातभर इजरायली हवाई आक्रमणमा कम्तीमा ६० जना नागरिकको ज्यान गएको छ। मारिनेमा बालबालिका र महिलाहरू पनि रहेका छन्।
यो घटनापछि गाजामा पुनः तनाव चर्किएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै गाजामा ‘शक्तिशाली आक्रमण’ गर्न सेनालाई निर्देशन दिएका थिए। उक्त निर्देशनपछि रातभर गाजाका विभिन्न क्षेत्रमा तीव्र बमबारी गरिएको थियो। प्रतिक्रियामा हमासले अर्को बन्धकको शव हस्तान्तरणमा ढिलाइ गर्ने चेतावनी दिएको छ।
मध्य गाजाको देइर अल-बालाहस्थित अल-अक्सा अस्पतालमा इजरायली हवाई आक्रमणपछि तीन महिला र छ बालबालिका सहित कम्तीमा १० जनाको शव ल्याइएको अस्पतालको स्रोतले जनाएको छ। दक्षिणी गाजाको खान युनुसस्थित नासेर अस्पतालमा पाँचवटा हवाई आक्रमणपछि २० शव पुर्याइएको थियो, जसमा १३ बालबालिका र दुई महिला रहेका थिए।
त्यसैगरी, मध्य गाजाको अर्को अस्पताल अल-अवदामा ३० वटा शव ल्याइएको छ। तीमध्ये १४ जना बालबालिका रहेको पुष्टि गरिएको छ। घाइतेहरूको ठूलो भीडका कारण अस्पतालहरूमा उपचारका साधनहरू अभाव भएको चिकित्सकहरूले बताएका छन्।
इजरायली पक्षका एक अधिकारीका अनुसार दक्षिणी गाजामा इजरायली सेनामाथि गोली प्रहार भएको घटनापछि नेतान्याहुले आक्रमणको आदेश दिएका हुन्। सो आक्रमण सोमबार हमासले एउटा बन्धकको ‘आंशिक अवशेष’ हस्तान्तरण गरेपछि भएको जनाइएको छ। इजरायलले ती अवशेष युद्धको सुरुआती चरणमा अपहरणमा परेका आफ्ना नागरिकका भएको दाबी गरेको छ।
दर्जनौँ परिवारहरू अहिले भग्नावशेषभित्र बेपत्ता रहेका छन् भन्दै स्थानीय अधिकारीहरूले यदि आक्रमण रोकिएन भने मानवीय सङ्कट झनै भयावह बन्ने चेतावनी दिएका छन्।
संयुक्त राज्य अमेरिकाले स्थिति नियन्त्रणमा ल्याउन कूटनीतिक पहल थालेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ‘हिंसात्मक झडपहरू चाँडै अन्त्य हुने’ आशा व्यक्त गरेका छन्।