काठमाडौं । भदौ २३ गतेको जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको आगजनीबारे जाँचबुझ गर्न गठित आयोगले पछिल्लो एक वर्षमा र्राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था (एनजीओ तथा आइएनजीओ) हरूलाई आएको वैदेशिक सहायताको विवरण पेश गर्न समाज कल्याण परिषद्लाई पत्र काटेको छ ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले नै विवरण मागिएको पुष्टि गरेका छन् । उनले जाँचबुझको सिलसिलामा समाजकल्याण परिषद्बाट एक वर्षको अवधिको सहयोगको विवरण मागेको बताएका हुन् ।
जेनजी आन्दोलनमा सक्रिय देखिएका केही व्यक्ति र ती आबद्ध संघसंस्थामाथि चौतर्फी रुपमा आवाज उठिरहेका बेला आयोगले समाजकल्याण परिषद्बाट सहयोगमा आएको रकम र उनीहरूले गरेको खर्चको विवरण मागेको हो ।
कुनै निश्चित संस्था वा ठाँउ नभएर समग्र देशभरका संघसंस्थाहरूमा आएको सहायताको विवरण मागिएको बताइएको छ । जेनजी आन्दोलनमा सक्रिय भएका कतिपय संस्थाहरूमाथिको अनुदानबारे कतिपयले सार्वजनिक वृत्तमा प्रश्न उठाएका थिए ।
दातृ निकाय तथा नेपालमै रहेका कतिपय कम्पनीहरूले गरेको सहयोगमाथि प्रश्न उठेको बेलामा आयोगले गैरसरकारी संस्थाहरूको आम्दानी र उनीहरूको कार्यक्रम सहित खर्चको विवरण मागेको हो ।
आयोगले विवरण मागेपनि समाजकल्याण परिषद्मा वैदेशिक सहायताबाट सञ्चालित हुने गैरसरकारी संस्थाहरूको मात्रै विवरण हुन्छ ।
नेपालभित्रै सञ्चालित र नेपालबाटै विभिन्न उपायले अनुदान पाउने संस्थाहरूले भने समाजकल्याण परिषद्मा नभई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आफ्नो विवरण र लेखापरीक्षण प्रतिवेदन बुझाउने गर्छन् ।
जेनजी आन्दोलनपछिको सरकार निर्माणमा आइएनजीओका सञ्चालकहरुको हात रहेको भन्दै चौतर्फी प्रश्न उठ्दै आएको छ । सन्दुक रुइत संलग्न बारबरा फाउन्डेसनदेखि हामी नेपाल नामक संस्थाहरुमाथि प्रश्न उठाइएको छ ।