काठमाडौं । जेनजी आन्दोलनको बलमा मन्त्री बन्न लागेका फरार अभियुक्त खगेन्द्र सुनारको सपथ रोकिने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सुनारसहित चार जनालाई मन्त्री बनाउने र आजै सपथ गराउने तयारी गरेकी थिइन् ।
तर, स्वास्थ्यकर्मीमाथि हातपात र साइबर अपराध मुद्दामा फरार सूचीमा रहेका सुनारको सपथ रोकिने भएको हो । प्रधानमन्त्री कार्कीले सुनालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउने तयारी गरेकी थिइन् ।
सुनारलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत उत्तिकै महत्व रहेको श्रम मन्त्रालयको जिम्मा दिंदा अन्तर्राष्ट्रिय स्तरमा समेत देशकै गरिमामाथि आँच आउने भन्दै चौतर्फी विरोध भएपछि प्रधानमन्त्री कार्की पछि हटेको स्रोत बताउँछ ।
आफूलाई दलित अभियन्ताका रुपमा चिनाउने र दलित अधिकारका लागि विवादित अभिव्यक्ति दिँदै आएका सुनारविरुद्ध सर्वोच्च अदालतदेखि दुई जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।
उनीविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा विचाराधीन छ भने सुर्खेत जिल्ला अदालत र काभ्रे जिल्ला अदालतबाट आपराधिक घटनामा संलग्न रहेको भन्दै अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको छ ।
अधिवक्ता मनिषा गौतमको जाहेरीका आधारमा सुनारविरुद्ध प्रहरीले सरकारी वकिलमार्फत दायर गरेको साइबर अपराधको मुद्दा जिल्ला अदालत काभ्रेमा विचाराधिन छ।
अदालत स्रोतका अनुसार उनलाई फरार प्रतिवादी बनाएर प्रहरीले मुद्दा दायर गरेकोमा उनी उपस्थित भएका छैनन्। काभ्रे प्रहरीले गत २ साउनमा उनीविरुद्ध मुद्दा दायर गरेको छ ।
सुनारविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा परेपछि सुनारले अधिवक्ता गौतमविरुद्ध फेसबुकमा गालीगलौच गरेर लेखेका थिए। त्यसविरुद्ध उनले साइबर ब्यूरोमा जाहेरी दिएकी थिइन्।
ब्यूराले अधिवक्ताको ठेगानाका आधारमा काभ्रेमा पठाएको थियो । साइबर ब्यूरोमा असार ३ गते जाहेरी परेको हो । जसको दर्ता नम्बर ४३३ छ । त्यस्तै अदालतमा दायर भएको मुद्दा नम्बर ०८२–सी २–००१ रहेको स्रोत बताउँछ।
उनीविरुद्ध सुर्खेतमा पनि फौजदारी मुद्दा लागेका छन्। सुनारविरुद्ध जिल्ला अदालत सुर्खेतबाट मेहेलकुना अस्पताल तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।
अदालतको मु.र.नं. ७८–०८०–०२१४१ र मु.नं. ०८०–C१–०५२२ अनुसार गुर्भाकोट नगरपालिका–८ स्थित मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाको उजुरीमा दायर मुद्दा मिति २०८१ असार १४ गते अदालतमा पुगेको थियो ।
त्यसको आधारमा अदालतले असार २१ गते ७ दिने पक्राउ पुर्जी जारी गर्दै दैलेख प्रहरी कार्यालयलाई फरार अभियुक्तलाई पक्राउ गरी उपस्थित गराउन आदेश दिएको पक्राउ पुर्जीमा उल्लेख छ ।
पुर्जीमा उल्लेख भएअनुसार, दैलेख जिल्ला नारायण नगरपालिका–२ भैसेखोर निवासी ३१ वर्षीय खगेन्द्र सुनार, डिलबहादुर सुनारका नाति र कमान सिंह सुनारका छोरा हुन् । सुनार हालसम्म पक्राउ परेका छैनन् र अदालतले उनलाई खोजी गर्न निर्देशन दिएको छ ।
सुनारमाथि अर्को मुद्दामा पनि साइबर ब्युरोले पनि अनुसन्धान गरिरहेको छ । केही महिना अगाडी उनले फेसबुकमार्फत सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालविरुद्ध गम्भीर आरोप लगाएका थिए ।
सुनारले सामाजिक तथा जातीय सद्भावलाई खल्बल्याउने उद्देश्यसहित बैतडीको डिलासैनी गाउँपालिका–३ का १३ वर्षीय किरण काजी कोलीलाई मन्त्री पालको गाडीले किचेर हत्या गरेको दाबी गरेका थिए ।
तर प्रहरी अनुसन्धानले उक्त दाबीलाई असत्य ठहर गरेको थियो । ती किशोरको मृत्यु गत साउन १७ गते बालुवा संकलनका क्रममा विद्युत पोल छुँदा करेन्ट लागेर भएको प्रहरीले जनाएको थियो । मृतक परिवारले भोलिपल्टै शव बुझिसकेका थिए ।
सोही प्रकरणमा मन्त्री पालका छोरा मुकेश पालले खगेन्द्र सुनारविरुद्ध तथ्यहीन आरोप लगाएर चरित्रहत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दर्ता गराएका थिए ।
उक्त उजुरी आवश्यक कारबाहीका लागि साइबर ब्युरोमा पठाइएको थियो । सुनार बैदेशिक रोजगारीमा ठगी गरेको अभियोगमा प्रहरी हिरासत बसेको समेत खुलेको छ ।
सुरुमा नेपाल बिद्यार्थी संघका कार्यकर्ता रहेका सुनार केही समय सञ्चारकर्मी समेत बनेका थिए। पछिल्लो समय दलित अभियन्ताको नाममा अराजक गतिविधिमा संलग्न हुँदै आएका छन् ।
फरार सूचीमा रहेको र विभिन्न आपराधिक कृयाकलापमा संलग्न रहेका सुनारको नाम अन्तिम समयमा आएर मन्त्रीको सूचीबाट हटेको बालुवाटार स्रोत बताउँछ ।
उनलाई मन्त्री बनाउँदा प्रधानमन्त्री कार्कीको मात्र नभई देशकै इज्जतमा दाग लाग्ने देखिएपछि उनको नाम हटाइएको बालुवाटार स्रोतले बतायो ।
प्रधानमन्त्री कार्कीले चार जना मन्त्रीको नाम शपथका लागि राष्ट्रपति कार्यालय शीतल निवास पठाए पनि अन्तिममा सुनारको नाम काटिएको हो ।