काठमाडौं । जिल्ला अदालत सुर्खेतबाट मेहेलकुना अस्पताल तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात मुद्दामा पक्राउ पुर्जी जारी भएका अभियुक्त खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन् ।
अदालतको मु.र.नं. ७८-०८०-०२१४१ र मु.नं. ०८०–C१–०५२२ अनुसार गुर्भाकोट नगरपालिका–८ स्थित मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाको उजुरीमा दायर मुद्दा मिति २०८१ असार १४ गते अदालतमा पुगेको थियो ।
त्यसको आधारमा अदालतले असार २१ गते ७ दिने पक्राउ पुर्जी जारी गर्दै दैलेख प्रहरी कार्यालयलाई फरार अभियुक्तलाई पक्राउ गरी उपस्थित गराउन आदेश दिएको पक्राउ पुर्जीमा उल्लेख छ ।
पुर्जीमा उल्लेख भएअनुसार, दैलेख जिल्ला नारायण नगरपालिका–२ भैसेखोर निवासी ३१ वर्षीय खगेन्द्र सुनार, डिलबहादुर सुनारका नाति र कमान सिंह सुनारका छोरा हुन् । सुनार हालसम्म पक्राउ परेका छैनन् र अदालतले उनलाई खोजी गर्न निर्देशन दिएको छ ।
तर यता, खगेन्द्र सुनारलाई नयाँ मन्त्रिपरिषद् विस्तारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्री बनाउने तयारी भइरहेको चर्चा छ ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेकामा, फरार अभियुक्तको नाम मन्त्रीको सूचीमा पर्नु नै विवादास्पद निर्णय ठहरिएको छ ।

यस्तै सुनारमाथि साइबर ब्युरोले पनि अनुसन्धान गरिरहेको छ । केही महिना अगाडी उनले फेसबुकमार्फत सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालविरुद्ध गम्भीर आरोप लगाएका थिए ।
सुनारले सामाजिक तथा जातीय सद्भावलाई खल्बल्याउने उद्देश्यसहित बैतडीको डिलासैनी गाउँपालिका–३ का १३ वर्षीय किरण काजी कोलीलाई मन्त्री पालको गाडीले किचेर हत्या गरेको दाबी गरेका थिए ।
तर प्रहरी अनुसन्धानले उक्त दाबीलाई असत्य ठहर गरेको थियो । ती किशोरको मृत्यु गत साउन १७ गते बालुवा संकलनका क्रममा विद्युत पोल छुँदा करेन्ट लागेर भएको प्रहरीले जनाएको थियो । मृतक परिवारले भोलिपल्टै शव बुझिसकेका थिए ।
सोही प्रकरणमा मन्त्री पालका छोरा मुकेश पालले खगेन्द्र सुनारविरुद्ध तथ्यहीन आरोप लगाएर चरित्रहत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दर्ता गराएका थिए ।
[insert page='373868' display='yopanipadhnuhos.php']
उक्त उजुरी आवश्यक कारबाहीका लागि साइबर ब्युरोमा पठाइएको थियो । सुनार बैदेशिक रोजगारीमा ठगी गरेको अभियोगमा प्रहरी हिरासत बसेको समेत खुलेको छ ।