काठमाडौं । शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नितु पौडेलको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आज बिहान ८:२० बजे कीर्तिपुर वर्न हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ का ३३ वर्षीय गायक तथा संगीतकार बाबुल गिरी धनबहादुरले अनामनगरमा यम तिलक नामको स्टुडियो सञ्चालन गर्दै आएका थिए । ३२ वर्षीय पौडेल भने सोही स्टुडियोमा काम गर्थिन् ।
प्रहरीका अनुसार पौडेलले कार्तिक १ गते शनिबार गिरीको स्टुडियोमा गएकी थिइन् । सोही क्रममा दुई पक्षबिच विवाद भएको थियो ।
विवादपछि उत्तेजनामा आएकी पौडेलले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन् ।।
पौडेल र गिरी केही समययता प्रेममा थिए ।
सो घटनामा आगो निभाउने क्रममा गिरी पनि घाइते भएका छन् । गिरीलाई कीर्तिपुरस्थित बर्न अस्पतालले शनिबार नै डिस्चार्ज दिएको थियो । डिस्चार्जलगत्तै केही सोधपुछका निम्ति भन्दै प्रहरीले नियन्त्रणमा समेत लिएको थियो ।
अहिले पनि गिरी प्रहरीकै सम्पर्कमा रहेका छन् । उनीविरुद्ध भने कुनै जाहेरी नआएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पौडेलले गीत गाउनुका साथै विभिन्न नाटकमा अभिनय पनि गर्दै आएकी थिइन् ।