काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का छानविन सुरु भएसँगै विदेश भागेका छन्। उनी स्थायी रुपमै नभई अस्थायी रुपमा अहिले विदेश भागेको बताइएको छ।
उनी भारत हुँदै अमेरिका तथा सिंगापुर गएको खुलेपछि अनेक आशंका गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले नै छानविन सुरु भएपछि खड्का भागेको खुलासा गरेका छन्।
खड्काका दुई छोरीहरु अमेरिकामै छन् । त्यसैले खड्का पनि पत्निसहित अमेरिका पुगेको स्रोत बताउँछ । यद्यपी खड्काकी श्रीमती भने उनी भन्दै पहिले नै अमेरिका पुगेकी थिइन् ।
२४ भदौको जेनजी आन्दोलनमा खड्को बुढानिलकण्ठस्थित घरबाट लाखौं रकम उडाइएको भिडियो सार्वजनिक भएको थियो। उनको घरमा विदेशी मुद्रा पनि भेटिएको थियो।
सोही आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि पनि विस्तृत छानविन गरेर मालपोत कार्यालयदेखि धितोपत्र बोर्डलाई पत्राचार गरिसकेको छ।
छानविन सुरु भएलगत्तै खड्का विदेश जानुलाई रहस्यमय मानिएको छ। स्रोतका अनुसार अकुत सम्पत्ति व्यवस्थापनका लागि उनी विदेश गएका हुन्।
खड्काको नेपालमा अरबौंको सम्पत्ति छ। उनी आफैं पनि हाइड्रो व्यवसायी हुन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री हुँदा जगदुल्ला जलविद्युत् आयोजनामा उनले चिनियाँ कम्पनीका बिचौलिया अरुण केसीमार्फत चेककान्ड मच्चाएर ठेक्कामा सेटिङ गरेको उजुरी अख्तियारमा परेको थियो।
मन्त्री हुँदा पनि नीतिगत भ्रष्टाचार गरेर उनले सम्पत्ति जोडेका थिए। सोही सम्पत्ति उनले विदेशमा व्यवस्थापन गरेको स्रोत बताउँछ।
उनै खड्काले नेपाल स्काउटको जग्गा समेत बर्षौदेखि कब्जा गरेर व्यापार गर्दै आएका छन्। सत्ताको आडमा उनले गरेको यो लुटमाथि पनि वर्तमान सरकारले छानविन थालेको छ।