Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दीपक खड्काको चेक काण्ड अख्तियारमा, बयानमा बोलाउने तयारी

दीपक खड्काको चेक काण्ड अख्तियारमा, बयानमा बोलाउने तयारी

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । पूर्वउर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ ।

खड्काले पदीय दुरुपयोग गर्दै अवैध चेकको कारोबार, कर्मचारी सरुवा बढुवामा रकम असुली तथा भ्रष्टाचारजन्य कार्य गरी राज्यलाई ठूलो आर्थिक नोक्सानी पु¥याई अकुत सम्पत्ति आर्जन गरेको उजुरीमाथि आयोगले छानविन थालेको स्रोतले बताएको छ ।

‘अवैध चेक कारोबार र अनियमितता’मा संलग्न रहेकाले कारबाही गरिपाऊँ भनी उनीविरुद्ध जेन–जीको नाममा सोमबार उजुरी परेको थियो ।

जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्कामा कमिसनवापत लेनदेन भएको चेकको फोटोसहित उजुरी परेपछि उनीमाथि छानविन थालिएको बताइएको छ ।

खड्काकै मिलेमतोमा जगदुल्ला आयोजनामा माउन्टेन इन्फ्रा कम्पनीले भारतीय कम्पनी पटेल इन्जिनियरिङलाई दिएको तीन करोडको चेक ठेक्काको कमिसनमा बाँडफाँट भएको खुलेपछि उनी दायरामा तानिएका हुन् ।

जगदुल्लामा आयोजना प्रमुख सञ्जय सापकोटालाई ठेकेदार कम्पनीका एजेन्टहरूसँग भेटघाट गराई खड्काले मन्त्रालयमै बसेर कमिसनबापतको चेकको लेनदेन गराएका थिए ।

‘१०६ मेगावाट क्षमताको डोल्पामा बन्ने जगदुल्ला हाइड्रोपावर कम्पनीको ठेक्कामा खड्काले अनुकूलको कम्पनीलाई ठेक्का दिलाउन मन्त्रालयमा नै बोलाएर अन्य कम्पनीहरूलाई चेक दिएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । केही दिनमै आयोजना प्रमुख सापकोटाको बयानपछि खड्कामाथि पनि आयोगले बोलाउने तयारी गरेको छ ।’ अख्तियारका एक उच्च अधिकारीले बताए ।

खड्काले हाई हिमालय हाइड्रोका मालिक किरण मल्लसँग बिचौलिया अरुण केसीमार्फत सिक्टा आयोजनाको कमिसन लिएकोसमेत उजुरीमा दाबी गरिएको छ । मन्त्री हुँदा सिँचाइका कर्मचारीको सरुवामा घुस लिएको तथा नेपाल स्काउटको जग्गाको भाडा नतिरेको र अस्वाभाविक रूपमा अर्बको सम्पत्ति जम्मा गरेको भन्दै छानबिनको पनि माग गरिएको छ ।

यसअघि पनि खड्काविरुद्ध घुस लेनदेनसम्बन्धी विवादमा उजुरी परेको थियो । खड्कामाथि हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबिन गरिरहेको बुझिएको छ ।

उजुरीमा भनिएको छ–‘केपी शर्मा ओली नेतृत्वको सरकारका सबैभन्दा विवादित र भ्रष्टाचारमा लिप्त मन्त्रीका रुपमा परिचित खड्का बिभिन्न हाइड्रोपावरका शेयरहोल्डर मात्रै छैनन्, ठूला होटलमा लगानी गरी अवैध सम्पत्ति आर्जन गरिरहेका छन् । खड्काले जगदुल्ला आयोजनामा चेक काण्ड मच्चाएर स्काउटको भ्रष्टाचारदेखि बिद्युत खरिद सम्झौता (पीपीए) र सरुवामा समेत अनियमिततामा गरेका थिए ।’

जगदुल्लाका सिइओ सापकोटाले मन्त्रीको स्वार्थ अनुसार शुरुमा शर्माले आयोजना निर्माणका लागि भाग लिएकामध्ये जेभी गरेको चिनियाँ कम्पनी जेडआईइसीलाई टेण्डर दिलाउन लविङ गरे । तर, सापकोटाले अन्तिममा चिनियाँ कम्पनी सिनो हाइड्रो तथा भारतीय कम्पनीद्वय आरभीएनएल र पटेल इन्जिनियरिङले जेभी गरेको लामा कन्स्ट्रक्सनलाई पनि टेण्डर दिलाउन छुट्टाछुट्टै डिल गरेको र त्यसपछि मन्त्रालयमै चेक काण्ड मच्चाइएको उजुरीमा उल्लेख छ ।

मन्त्री खड्का ग्यारेन्टी बसेर प्रतिस्पर्धामा रहेकामध्ये चार कम्पनीका एजेन्टलाई विभिन्न व्यक्तिको नामबाट १५ करोड रुपैयाँका दरले चेक दिएका थिए । खड्काले किरण मल्लको हाइ हिमालय हाइड्रो र एजी कम्पनीलाई ठेक्का दिलाउन चेक वितरण गरेका थिए ।

तर पछि यो ठेक्का रद्द भई चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएपछि आफूले कमिसन पचाउन खड्काले किरण मल्लको कम्पनीलाई सिक्टा आयोजनाको ठेक्का दिलाएको दावी उजुरीमा गरिएको छ ।

त्यसो त दीपक खड्काले हालका उर्जामन्त्री कुलमान घिसिङलाई बिद्युत प्राधिकरणको एमडीबाट हटाइसकेपछि पीपीएदेखि कर्मचारी सरुवामा मोलतोल गरी ठूलो रकम असुली गरेका थिए । त्यसका लागि उनले अरुण केसीलाई नै परिचालन गरेका थिए ।

ठूलो आर्थिक लेनदेन गरी सिंचाई बिभागको महानिर्देशकमात्रै खड्काले एक बर्षमा ४ जनालाई बनाएर भ्रष्टाचारको चरम नमूना प्रदर्शन गरेका थिए ।

नेपाल स्काउटको जग्गा लिजमा लिएर ५ करोड भाडा नतिरेको खड्काल्याण्ड डेभलपमेन्ट प्रालि, संखुवासभा आधुनिक कृषि कम्पनी प्रालि, मकालु बरुण एग्रो कन्सर्न प्रालि, होटल फोरेष्ट इन प्रालि, लैनचोर बैंक्वेटलगायतका पनि उनी लगानीकर्ता र संचालक खड्काले मन्त्री भइसकेपछि यी कम्पनीहरुमा विभिन्न व्यक्ति र कम्पनीहरुमार्फत रकम जम्मा गराउन लगाएको समेत उजुरीमा दावी गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077