काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेसँगै पार्टीभित्रको संस्थापन समूहले विशेष महाधिवेशनको औचित्य सकिएको निष्कर्ष निकालेको छ।
कार्यवाहक सभापतिको जिम्मेवारी पाएको अर्को दिन, खड्काको आह्वानमा ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा बसेको संस्थापन पक्षको बैठकमा नेताहरूले सभापतिको निर्णयपछि अब पार्टीलाई नियमित महाधिवेशनतर्फ लैजानुपर्ने धारणा राखेका थिए।
बैठकमा सभापति देउवाले कार्यवाहक तोक्दा नियमित महाधिवेशन निर्धारित मितिमा सम्पन्न गर्न निर्देशन दिएको जानकारी दिइयो। त्यसअनुसार कार्यवाहक सभापति र पदाधिकारीहरूले बिहीबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको कार्यतालिका माग्ने तयारी गरेका छन्।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार नेताहरूले कार्यतालिकासँगै महाधिवेशनको मिति र पूर्वतयारीका आधारहरू पनि स्पष्ट गर्नुपर्ने धारणा राखेका थिए।
१४औं महाधिवेशनबाट निर्वाचित सभापति देउवाले यसअघि गुटगत बैठक राखेका थिएनन्। खड्काले कार्यवाहक पाएको भोलिपल्ट पहिलोपटक संस्थापन समूहलाई एक ठाउँमा भेला पारेका हुन्।
उक्त बैठकमा पूर्वउपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा. शशांक कोइरालासहित सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’ र उमाकान्त चौधरी पनि सहभागी थिए।
बैठकको सुरुवातमा कार्यवाहक सभापति खड्काले पछिल्लो राजनीतिक तथा संगठनात्मक परिस्थितिबारे जानकारी दिँदै आगामी कदमका विषयमा नेताहरूको सुझाव मागेका थिए।
बैठकमा सहभागी नेताहरूले सभापति देउवामाथि हालै भएको हमलाको निष्पक्ष छानबिन गर्नुपर्ने, पार्टीभित्र बेमेल र अविश्वासको वातावरण अन्त्य गर्नुपर्ने र जेनजी आन्दोलनसम्म पुग्ने अवस्था किन आयो भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने सुझाव दिएका थिए।