पोखरा । गण्डकी प्रदेश सरकारले सञ्चालनमा ल्याएको गण्डकी विश्वविद्यालयमा स्थापनाकालदेखि नै मौलाउँदै आएको भनिएको अनियमितता र भ्रस्टाचारको विषयले तीव्र रूप लिन थालेको छ।
विश्वविद्यालयमा देखिएका अनियमित खर्च, नातागोता आधारित नियुक्ति र पदाधिकारी–परिवारलाई लक्षित सुविधा वितरणबारे विवरण सार्वजनिक भएपछि नयाँ पुस्ताका युवाहरू सडकदेखि सञ्चार माध्यमसम्म आक्रोशित भएका छन्।
जेनजी युवा अभियन्ता विजय पराजुली, निर्दोष विक्रम पौडेल, प्रकाश वास्तोला र दिफान भुजेललगायतका युवाहरूले पत्रकारहरू सामु रजिष्ट्रारसँग प्रत्यक्ष जवाफ माग्दै विश्वविद्यालयमा पारदर्शिता र जवाफदेहिताको अभाव गम्भीर समस्या भएको बताएका छन्।
उनका अनुसार, विश्वविद्यालयको नाममा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनदेखि लिएर विभिन्न पद र सेवासुविधा वितरणमा नातागोता, व्यक्तिगत नजिकोपन र राजनीतिक पहुँचको प्रभाव देखिएको छ। '
शिक्षा र अनुसन्धानको केन्द्र बन्नुपर्ने विश्वविद्यालय लाभ वितरणको केन्द्र बनेको छ,' अभियन्ता पराजुलीले भने।
युवाहरूले गण्डकी विश्वविद्यालयका पदाधिकारीहरूले आफ्ना परिवारजन र निकट समूहका व्यक्तिलाई आर्थिक लाभ र पद–सुविधा बाँडफाँड गरेको आरोप पनि लगाएका छन्।
यसै सन्दर्भमा उनीहरूले विश्वविद्यालय प्रशासनका निर्णय र खर्च विवरण सार्वजनिक गर्न माग गरेका छन्।
उनीहरूले भने, 'प्रदेशकै प्रमुख शैक्षिक संस्था गण्डकी विश्वविद्यालयमाथि यस्ता आरोप लाग्नु शर्मनाक हो। यसको निष्पक्ष अनुसन्धान र संलग्न व्यक्तिमाथि कडा कारबाही हुनुपर्छ।