काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हमासको नियन्त्रणमा रहेका इजरायली बन्धकहरूको रिहाइको स्वागत गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको प्रशंसा गरेका छन् ।
सोमबार राति सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री मोदीले लेखेका छन् “दुई वर्षभन्दा बढी समयसम्म बन्धक बनाएर राखिएका सबै व्यक्तिहरूलाई अन्ततः मुक्त गरिनु स्वागतयोग्य कुरा हो।”
ट्रम्प र नेतन्याहूको पहलको उल्लेख गर्दै उनले थप लेखेका छन्, “उनीहरूको स्वतन्त्रता उनीहरूको परिवारको साहस, राष्ट्रपति ट्रम्पको शान्ति प्रयास र प्रधानमन्त्री नेतन्याहूको दृढ संकल्पको प्रतीक हो।”
सोमबार हमासले २० जना इजरायली बन्धकहरूलाई मुक्त गरेको थियो। यसको प्रतिफलस्वरूप इजरायलले एक हजार ९६८ जना प्यालेस्टिनी कैदी र बन्दीहरूलाई रिहा गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।
यस घटनालाई मध्यपूर्व शान्ति प्रक्रियातर्फको महत्वपूर्ण कदमका रूपमा अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेको छ।