काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुने भएको छ । बैठक दिउसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा सुरु हुन लागेको हो ।
बैठकमा पेस गर्ने एजेन्डामा भने अझै सहमति जुटेको छैन । त्यसका लागि आजै बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्ने बताइएको छ ।
शीर्ष नेताहरूबिच लगातार छलफल हुँदै आए पनि केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेन्डाका विषयमा सहमति जुट्न सकिरहेको छैन ।
सभापति शेरबहादुर देउवा पनि केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बुढानीलकण्ठ स्थित आफ्नै निवासमा कुटिएपछि सार्वजनिक रूपमा नदेखिएका देउवा बैठकमा सहभागी हुने छन् ।
आजको बैठकमा बैठकअघि नै विशेष महाधिवेशनको मागसहित महाधिवेशन प्रतिनिधिका हस्ताक्षर बुझाएर केन्द्रीय समिति बैठकबाट निर्णय गराउने पक्षमा महामन्त्री देखिएका छन् ।