काठमाडौं । जेनजी आन्दोलनका क्रममा ‘टीओबी’ लेखिएको टिसर्ट लगाएर हिँड्ने समूहबारे प्रहरीले अनुसन्धान थालेको छ । आन्दोलनका बेला बिजुलीबजार पुलमा ‘पेस्तोल’सहित देखिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले त्यसप्रति विशेष चासो देखाएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको छ । स्रोतका अनुसार, भिडियो भाइरल भएपछि त्यसमा देखिएका व्यक्ति तेन्जेन दावा स्वयम् प्रहरी सम्पर्कमा पुगेका छन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा दावाले भिडियोमा देखिएको पेस्तोल सक्कली नभएको दाबी गरेका छन् । उनी उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेका थिए ।
त्यसपछि उनलाई सोधपुछका लागि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको बताइएको छ । भिडियोमा देखिएको वस्तु हतियारजस्तो देखिए पनि दावाले त्यो ‘डमी पेस्तोल’ भएको बताएका छन् ।
तर प्रहरीले भने भिडियोमार्फत् सामाजिक त्रास फैलाउने कार्य भएको बताउँदै थप अनुसन्धान जारी रहेको जनाएको छ। हाल भाइरल भइरहेको भिडियो पनि केही समयअघि खिचिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।