Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी विद्रोहलाई ऐतिहासिक ध्येयसम्म पुर्‍याउन बाबुराम भट्टराईका चार सुझाव

जेनजी विद्रोहलाई ऐतिहासिक ध्येयसम्म पुर्‍याउन बाबुराम भट्टराईका चार सुझाव

शनिवार , आश्विन २५, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी विद्रोहलाई ऐतिहासिक र रूपान्तरणकारी दिशातर्फ अघि बढाउन चारबुँदे सुझाव दिएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले विगतका आन्दोलनका गल्ती र कमजोरीबाट सिक्दै यो विद्रोहलाई सही दिशा दिनुपर्नेमा जोड दिएका हुन् ।

भट्टराईले अहिले जेनजी आन्दोलनको परिणाम अझ स्पष्ट नभएको बताउँदै यसको नेतृत्व, प्रतिनिधित्व र भूमिका सम्बन्धमा देखिएको अन्योललाई 'विडम्बनापूर्ण' बताएका छन् ।

उनका अनुसार अन्तरिम सरकारले यो विषयमा स्पष्टता ल्याउनुपर्ने आवश्यकता छ । उनले लेखे—'भदौ २३ गतेबाट सुरु भएको जेन–जी आन्दोलनमा जसले औपचारिक पहल र सडकमा नेतृत्व गरे, तिनलाई नै वास्तविक प्रतिनिधि मान्नुपर्छ । पछि सहयोग गर्नेहरू सहयोगी हुन्, तर घुसपैठ गरेर प्रतिगामी नारा लगाउने र गलत हर्कत गर्नेहरूलाई यथोचित व्यवहार गर्नुपर्छ।'

भट्टराईले चेतावनी दिँदै भनेका छन्—'पटकपटक सत्तामा रहेर जसका गलत हर्कतले यो युवाविद्रोह जन्मायो वा अहिले पनि आन्दोलनमा घुसपैठ गरेर सार्वजनिक सम्पत्ति नष्ट गराए, ती नै व्यक्ति अहिले ‘गोहीको आँसु’ झार्दै अघि आउने हुन् भने सतर्क रहनुपर्छ।'

उनले अहिलेको अन्तरिम सरकार जेनजी विद्रोहको बलमा र ऐतिहासिक आवश्यकताले गठन भएको भन्दै त्यसले कुनै शक्तिको डरत्रास नमान्नुपर्ने सुझाव दिएका छन् ।

'सरकारले आफ्नो निष्ठा आन्दोलनकारीप्रति रहेकोमा स्पष्ट हुनुपर्छ र प्राप्त कार्यादेश पूरा गर्न दत्तचित्त हुनुपर्छ,' उनले भने, 'सत्कर्मको जश इतिहासले अवश्य दिनेछ।'

डा. भट्टराईले राज्यका अन्य स्थायी अंगहरू—कर्मचारीतन्त्र, न्यायालय, सुरक्षा निकाय, संवैधानिक आयोग, प्रदेश तथा स्थानीय सरकारहरू—सबैले बदलिएको राजनीतिक परिस्थितिको आत्मसात गर्दै सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

'यदि कसैलाई चित्त नबुझ्ने हो भने पदत्याग गरेर मार्ग प्रशस्त गर्नुपर्छ, असहयोग र अन्तरध्वंश गर्न हुँदैन,' उनले लेखे ।

उनले लोकतन्त्रमा गैर–राज्य क्षेत्रको भूमिकाबारे पनि जोड दिँदै भनेका छन्—'उद्यमी, व्यवसायी, सार्वजनिक बौद्धिक र आम नागरिकहरूले पनि यो अन्तरिम कालमा आफ्नो दायित्व सचेतनापूर्वक र जिम्मेवारीसाथ निर्वाह गर्नुपर्छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077