काठमाडौं । नेपाल प्रहरीमा ३३औं महानिरीक्षक (आईजीपी)का लागि संघर्ष सुरु भएको छ। हालका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङको कार्यकाल एक महिना मात्र बाँकी रहेकाले नयाँ नेतृत्व चयनका लागि रस्साकस्सी अघि बढेको हो ।
कात्तिकको २७ मा हालका आईजीपी खापुङले अवकाश पाउनेछन्। त्यसपछि नियुक्ति हुने आईजीपीले झन्डै साढे दुई वर्ष नेतृत्व गर्ने भएकाले पनि नयाँ नेतृत्व चयनमा तिव्र संघर्ष देखिएको हो ।
नयाँ आईजीपीका लागि चार एआइजीबीच मुख्य प्रतिस्पर्धा छ । जसमा दानबहादुर कार्की पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा राजन अधिकारी, तेस्रोमा डा.मनोज केसी र चौथो नम्बरमा सिद्धिबिक्रम शाह छन्।
केपी शर्मा ओली सरकारको समयमा कार्की, अधिकारी र शाहबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको थियो । तर, अहिले नयाँ सरकार बनेसँगै समिकरण फेरिएको छ । अब कार्की र केसीबीच तिव्र लडाई छ । अधिकारी र शाह प्रतिस्पर्धाबाट बाहिरिएको प्रहरी अधिकारीहरु नै बताउँछन् ।
पहिलो नम्बरमा भएकाले कार्कीका लागि केही सहज हुने अवस्था देखिन्छ । यद्यपी उनलाई रोक्न प्रहरीकै एक समूह सक्रियताका साथ लागिसकेको छ । २४ भदौको आन्दोलनमा राम्रोसँग कमाण्ड गर्न नसकेको लगायतका आरोप लगाएर उनलाई बदनाम गराउने खेल सुरु भएको छ ।
सोहीअनुसार रवि लामिछानेलाई जेलबाट निकाल्न पनि उनको सहयोग रहेको भनेर जाँचबुझ आयोगमा उजुरी हालेर त्यसलाई मिडियाबाजी गरिएको छ । यसमा केही प्रहरी अधिकारी नै लागेको बताइन्छ ।
अर्का दाबेदार मनोज केसी नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेर चर्चामा आएका अधिकृत हुन् । हाल उनलाई पत्याएर सरकारले सिआइबीको जिम्मा दिएको छ । जसकारण राम्रा अधिकृत भनेर वरियता मिचेर भएपनि उनलाई बढुवा गर्नुपर्छ भनेर एक समूह लबिङमा लागेको छ ।
विगतमा रवि लामिछाने गृहमन्त्री हुँदा श्याम ज्ञवालीलाई सिआबीमा लगेर आफुअुकुल प्रयोग गरिएजस्तै हालका गृहमन्त्री ओमप्रकाश अर्यालले उनलाई सिआइबीमा लगेका हुन्।
तर, हालकी प्रधानमन्त्री सुशीला कार्की प्रधानन्यायाधीश भएकै बेला भएको एक फैसलाले केसीका लागि तगारो हुने देखिन्छ । नवराज सिलवालले दायर गरेको मुद्दामा त्यतीबेला कार्कीको इजलासले जयबहादुर चन्दको नियुक्ति बदर गरी वरियता मिच्नु गलत भनेर फैसला गरेको थियो ।
अहिले आफ्नै फैसलाविपरीत निर्णय गर्दा प्रश्न उठ्ने भएकाले सो फैसलाले दानबहादुर कार्कीलाई सहज हुने देखिन्छ । अर्कोतर्फ गृहमन्त्री ओमप्रकाश अर्याल गृहजिल्ला गुल्मीकै भएकाले पनि कार्कीलाई राहत हुने बताइन्छ ।
यसअघि सरकारले राष्ट्रिय अनुसन्धान विभागमा सरकारले वरियता मिचेर टेकेन्द्र कार्कीलाई प्रमुखमा नियुक्त गरेको थियो । सो नजिरका आधारमा भने नेपाल प्रहरीमा पनि वरियता मिचिन सक्ने आँकलन पनि गरिएको छ ।
यद्यपी अन्य दुई एआइजीले पनि मैदान छाडिसकेका भने छैनन् । दोस्रो नम्बरमा रहेका अधिकारी भने पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका निकट मानिन्छन् ।
ओलीकै कारण उनी डिआइजी बढुवामा अगाडि तानिएका थिए । कमाण्डमा कमजोर भएकाले उनको सम्भावना पनि कमजोर बनेको छ। शिद्धिबिक्रम शाहको शेरबहादुर देउवासँग निकटता थियो । जसकारण नयाँ परिस्थितीमा उनी पनि प्रतिस्पर्धाबाट बाहिरिएका छन् । जसकारण कार्की र केसीमध्ये एक ३३औं आईजीपी हुने सम्भावना देखिन्छ ।