काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बारा जिल्ला न्यायाधीश भोला ढकाललाई न्यायपरिषद् सचिवालयमा काजमा तानेका छन् ।
ढकालले सम्पत्ति शुद्धीकरणमा फरार रहेका एक भारतीय नागरिकलाई अदालतमा उपस्थित गराएर नियमित सुनुवाइ सुरु नहुँदै धरौटीमा छोड्ने आदेश दिएका थिए।
उक्त आदेशबारे उजुरी परेपछि ढकालमाथि अनुचित आदेश र आर्थिक लेनदेनको आशंका उठेको हो। स्रोतका अनुसार, उजुरी अध्ययनपछि प्रधानन्यायाधीशले उनलाई परिषद् सचिवालयमा तान्ने निर्णय गरेका हुन् ।
मुद्दाको पृष्ठभूमि अनुसार, भारतीय नागरिक अशोककुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा फरार थिए। उनीहरूलाई बारा जिल्ला अदालतमा ‘उपस्थित’ गराएर न्यायाधीश ढकालले धरौटीमा छाड्ने आदेश दिएका थिए।
तर बार एशोसिएसन, बाराले ढकालको आदेशको विरोध गर्दै उनको इजलास बहिष्कार गर्ने निर्णय गरेको थियो ।