काठमाडौं । नेपाली कांग्रेसले अविरल वर्षाका कारण देशभर उत्पन्न विपद्सँग जुध्न भ्रातृ संस्थाको ‘स्वयंसेवी समूह’ मार्फत काम गर्ने भएको छ ।
आज यहाँ पार्टी महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा भएको भ्रातृ संस्थाका अध्यक्ष र प्रतिनिधिहरूसँग ‘विपद् केन्द्रित विशेष बैठक’ ले भ्रातृ संस्थाको ‘स्वयंसेवी समूह’ मार्फत काम गर्ने निर्णय गरेको हो ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार भ्रातृ संस्थाका स्वयंसेवक स्थानीय रूपमा परिचालित गरिसकिएको छ । कांग्रेसले भारी वर्षा र पहिरोका कारण विभिन्न जिल्लामा भएको मानवीय क्षतिले पूरै देशलाई मर्माहत बनाएको जनाएको छ।
पार्टीले इलाम, रौतहट, खोटाङ, उदयपुरलगायत जिल्लामा भएको मृत्युका घटनाप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गर्दै दिवङ्गत सबैको आत्माको शान्ति कामना तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको मुख्यसचिव पौडेलले बताए।
कांग्रेसले थप मानवीय क्षति हुन नदिन थप उच्च सतर्कताका लागि राज्य र स्थानीय स्वयंसेवीहरूमा विशेष अपिलसमेत गरेको छ।