काठमाडौँ । असोज १७ देखि २० गतेसम्म देशभर भारी वर्षा हुने सम्भावना रहेकाले त्यसबाट उत्पन्न हुन सक्ने विपद्बाट जोगिन काठमाडौं जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
प्रशासनले बिहीबार जारी गरेको जरुरी सूचनामा अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न र काठमाडौं भित्रिने वा बाहिरिने यात्रामा विशेषगरी रातको समयमा सचेत रहन अनुरोध गरिएको छ ।
'जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार देशका विभिन्न भागमा तीव्र वर्षा हुने सम्भावना छ। यसले बाढी, पहिरो र भूक्षयजस्ता विपद् निम्त्याउन सक्ने भएकाले सबैलाई आफ्नो स्थानमै रही सतर्कता अपनाउन आग्रह गरिएको छ,' विज्ञप्तिमा भनिएको छ।
यस्तै, सम्भावित विपद्का बेला तत्काल उद्धार, सहयोग र राहतका लागि आवश्यक सम्पर्क नम्बरहरू पनि प्रशासनले उपलब्ध गराएको छ।
काठमाडौं प्रशासनले नागरिकलाई मौसमसम्बन्धी सूचना र सरकारी निर्देशनको निरन्तर पालना गर्न अनुरोध गर्दै अनावश्यक जोखिमपूर्ण गतिविधिबाट टाढा रहन सचेत गराएको छ।
