काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले अक्टोबर ९ मा कुनै पनि आन्दोलनका कार्यक्रम नरहेको प्रष्ट्याएका छन् ।
अक्टोबर ९ मा फेरि हिंसात्मक प्रदर्शन हुने भनेर सामाजिक सञ्जालमा त्राश फैलाइएपछि उनले सो प्रष्टीकरण दिएका हुन् ।
टिकटबमा भिडियो पोस्ट गर्दै उनले भनेका छन्- 'धेरैले मलाई अक्टोबर ९ को विषयमा सोधिरहनुभएको छ । म प्रस्ट्याउन चाहन्छु अक्टोबर ९ मा कुनै पनि हिंसात्मक गतिविधि गर्ने योजना छैन । त्यस्तोमा हामी संलग्न हुँदैनौँ । शान्तिपूर्ण रूपमा केही गर्न सकिएला तर हिंसात्मक गतिविधि हुनु हुँदैन ।'
एजेन्डाबिना कुनै पनि आन्दोलन गर्नुको औचित्य नहुने ढुङ्गानाको भनाइ छ ।
उनले भने- 'भदौ २३ को प्रर्दशनमा हामी मुसा मार्न गएका थियौँ, बाघ मारेर ल्यायौँ । अब बाघ बोकेर ल्याउन सकिँदैन जंगलबाट । एजेन्डाबिना हामी कुनै पनि खालको प्रदर्शनमा भाग लिदैनौँ ।'
अहिले आन्दोलन गर्नुपर्ने कुनै पनि कारण नरहेको र जेनजीहरूले देशमा कायम भएको शान्ति विथोल्न नचाहेको उनले बताए ।