काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले चाडपर्वको अवसरमा यात्रुहरूमाथि अन्याय गर्ने यातायात व्यवसायीलाई कडा कारबाही गरिने चेतावनी दिएका छन् ।
स्वीकृत भाडादरभन्दा बढी असुल गर्ने, टिकटमा कालोबजारी गर्ने लगायतका गतिविधि तत्काल बन्द गर्न उनले चेतावनी दिएका हुन् ।
मन्त्री घिसिङले चाडबाडलाई कमाउने अवसरका रूपमा प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै भने, 'देश अहिले विषम परिस्थितिबाट गुज्रिरहेको छ। यस्तो बेला सबै पक्ष जिम्मेवार बन्नु जरुरी छ। यात्रुलाई अनावश्यक दुःख दिएर बढी भाडा असुल्ने वा टिकटमा कालोबजारी गर्ने कार्य सह्य हुने छैन।'
उनले यात्रुबाट आएका गुनासालाई गम्भीरतापूर्वक लिने बताउँदै यस्ता कार्यमा संलग्न व्यवसायीलाई तुरुन्तै स्थानीय प्रशासन र सुरक्षा निकायमार्फत कारबाही अघि बढाइने जानकारी दिए।
यातायात व्यवसायीलाई निर्धारित भाडादर अनुसार मात्र शुल्क लिन आग्रह गर्दै मन्त्री घिसिङले यात्रुले समेत शंकास्पद वा बढी भाडा असुलिएको खण्डमा नजिकैको प्रहरी वा प्रशासनलाई खबर गर्नुपर्नेमा जोड दिएका छन्।