Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेताको पासपोर्ट रोक्का गरिएकोमा कांग्रेसले भन्यो – राजनीतिक प्रतिशोध स्वीकार्य छैन

नेताको पासपोर्ट रोक्का गरिएकोमा कांग्रेसले भन्यो – राजनीतिक प्रतिशोध स्वीकार्य छैन

बुधवार , आश्विन १५, २०८२

काठमाडौँ । नेपाली कांग्रेसले अन्तरिम सरकारलाई दण्डहीनतालाई प्रोत्साहन नगर्न र दलहरूमाथि प्रतिशोधपूर्ण राजनीति तत्काल रोक्न कडा चेतावनी दिएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार जारी गरेको विज्ञप्तिमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार आफ्नो जिम्मेवारीभन्दा अलग बाटोमा हिँड्न खोजेको आरोप लगाइएको छ।

विज्ञप्तिमा भनिएको छ, 'भदौ २३ र २४ गतेका घटनाको छानबिन प्रारम्भ नहुँदै राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रही र प्रतिशोधपूर्ण ढंगले आयोगको हवाला दिँदै गैरकानूनी र गैरसंवैधानिक कार्यहरू गर्न लगाइएको देखिन्छ। सरकारको निर्देशनमै राहदानी रोक्का गर्ने, आवतजावतमा प्रतिबन्ध लगाउने जस्ता कदमहरू खुलेआम राजनीतिक प्रतिशोधको द्योतक हुन्।'

कांग्रेसले जेन–जी पुस्ताले आह्वान गरेको शान्तिपूर्ण प्रदर्शनको आवरणमा अराजकता, आगजनी, तोडफोड र लुटपाट हुँदा मुलुकमा ठूलो क्षति भएको भन्दै गम्भीर आपत्ति जनाएको छ। पार्टीले घटनाबारे न्यायिक छानबिन आयोग गठन गरेको कदमलाई स्वागतयोग्य भने पनि त्यसकै नाममा दल विशेष र नेताहरूमाथि लक्षित प्रतिशोधी कारबाही स्वीकार्य नहुने चेतावनी दिएको हो।

विज्ञप्तिमा भनिएको छ, 'भदौ २३ र २४ गतेको घटनामा सुरक्षाकर्मी सहित ७६ जनाभन्दा बढीको ज्यान गएको छ, सयौँ घाइते भएका छन्, राष्ट्रलाई खरबौँको क्षति भएको छ। यस्ता घटनाको जति निन्दा गरे पनि कम हुन्छ। तर सरकारद्वारा जारी विज्ञप्ति र गृह मन्त्रालयको परिपत्रले संविधान र विधिको शासनलाई तिर्खलिएको छ।'

कांग्रेसले सप्रमाण भेटिएका अपराधीलाई उन्मुक्ति दिने, पीडितलाई अझ आतङ्कित गर्ने र राजनीतिक दललाई छानीछानी प्रतिशोधी निशाना बनाउने नीति जनताले कहिल्यै स्वीकार नगर्ने स्पष्ट चेतावनी दिएको छ।

पार्टीले अन्तरिम सरकारलाई दण्डहीनतालाई प्रोत्साहन गर्ने र दलमाथि प्रतिशोधपूर्ण राजनीति गर्ने बाटो तत्काल छोड्न आग्रह गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077