काठमाडौं । जेनजी आन्दोलनले सरकारबाट बाहिरिएको नेकपा एमालेमा वैकल्पिक नेतृत्वको बहस चर्किएको छ ।
जेनजी आन्दोलनको प्रभावस्वरूप अन्य दलहरूमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनुपर्ने विषय चर्किएसँगै एमालेलाई पनि नेतृत्व हस्तान्तरणको बाध्यता आइपरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीलाई कुनै पनि हालतमा नेतृत्व हस्तान्तरण नगर्न एउटा समूहले दिइरहेको दबाब बाबजुद तिहारसम्ममा महिला संयोजक पाउने सम्भावना बढेको छ । दसैंलगत्तै पार्टीको केन्द्रीय समिति बैठकबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई संयोजक बनाएर महाधिवेशनमा जानसक्ने सम्भावना बढेको छ ।
जेनजी आन्दोलनको दबाबस्वरूप नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) बाट बाबुराम भट्टराईले राजीनामा दिइसकेका छन् भने नेकपा माओवादी केन्द्रले पनि केन्द्रीय कमिटी भंग गरी महाधिवेशन आयोजक कमिटी बनाइसकेको छ । नेतृत्व हस्तान्तरणको दबाब बढ्दैगर्दा एमालेमा पनि हस्तान्तरणको गृहकार्य गर्नुपर्ने ठाउँमा पुग्दै गरेको बताइएको छ ।
जेनजी आन्दोलनको दोस्रो दिन प्रधानमन्त्रीबाट राजीनामा दिएका अध्यक्ष केपी शर्मा ओली २ असोजमा नेपाली सेनाको सुरक्षाबाट फिर्ता भए पनि सार्वजनिक रूपमा नेतृत्व हस्तान्तरणको विषयमा बोलेका छैनन् । ओलीले पार्टीका सबै तहका नेतासँग अलगअलग भेटघाट र छलफल गरिरहेका छन् । राजधानी दैनिकबाट