काठमाडौं । सुशीला कार्कीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद् विस्तार गरिएको छ । सोमबार चार नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएपछि अब मन्त्रिपरिषद् ८ सदस्यीय बनेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसमा मन्त्रिपरिषद् विस्तार गर्दै शपथ गराए छन् । गत २७ भदौमा गठन भएको मन्त्रिपरिषद्मा प्रधानमन्त्री कार्कीपछि दोस्रो वरीयतामा अर्थमन्त्री रामेश्वर खनाल रहेका छन् । खनाललाई अर्थसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।
तेस्रो वरीयतामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ छन् । घिसिङलाई ऊर्जासहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।
यस्तै, चौथो वरीयतामा गृहमन्त्री ओमप्रकाश अर्याल छन् । पाँचौं वरीयतामा तीन मन्त्रालयको जिम्मेवारी पाएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा छन् ।
उनले उद्योग, कानुन र भूमि व्यवस्था मन्त्रालय पाएका छन् भने त्यसपछिको वरीयतामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं वैज्ञानिक महावीर पुन छन् ।
सातौं वरीयतामा कृषिमन्त्री मदनप्रसाद परियार छन् भने सञ्चारमन्त्रीको जिम्मेवारी पाएका सञ्चारकर्मी जगदीश खरेलको वरीयता आठौं छ । मन्त्री सिन्हा, पुन, परियार र खरेलले सोमबार मन्त्रीको शपथ लिएका हुन् ।
प्रधानमन्त्री कार्कीले परराष्ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा जेष्ठ नागरिक, युवा तथा खेलकुद, वन तथा वातावरण, श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैसँग राखेकी छन् । राजधानी दैनिकबाट