काठमाडौं । हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङले आफू नेपाली नागरिक भएको स्पष्ट पारेका छन् । आइतबार रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा गुरुङले सो कुरा स्पष्ट पारेका हुन् ।
उनले आफूलाई बारम्बार फाउन्डेशन वा फ्रितिब्बतसँग जोडेर भारतीय भन्ने शैलीमा समाचार आएको गुनासो गर्दै भने, “म नेपालकै छोरो हुँ, मलाई भारतीय भन्नु गलत र मेरो इज्जतमा आघात हो।”
गुरुङले जेनजी आन्दोलन नेपाली युवाहरूकै सामूहिक आह्वानमा भएको स्पष्ट पार्दै आफूले पनि त्यसका लागि आह्वान गरेको बताए । “हामी युवाहरूले देशका लागि आन्दोलन गरेका हौं, ठूलो परिवर्तन ल्याएका छौं, तर माग अझै पूर्ण रूपमा पुरा नभएकाले आन्दोलन जारी छ,” उनले भने ।
उनले आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाएको स्मरण गर्दै आफू उनीहरूको बलिदानको पक्षमा लडिरहेको स्पष्ट पारे। “मेरा लागि देश नै सबैभन्दा माथि छ,” गुरुङको भनाइ थियो।