काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाकी पत्नी अञ्जना केसी थापाले हाल भइरहेको विरोध प्रदर्शनका क्रममा भएको हिंसा र आगजनीप्रति गहिरो असन्तोष प्रकट गरेकी छन् ।
सामाजिक सञ्जालमा लेखिएको भावुक स्ट्याटसमार्फत उनले आफ्नो परिवारको जीवनसमेत जोखिममा परेको उल्लेख गरेकी छन् ।
अञ्जनाका अनुसार, उनी बस्ने घरमा मंगलबार राति आगजनी हुँदा उनका दुई छोरीहरू, ७० वर्षभन्दा माथिका वृद्ध सासु–ससुरासहितको परिवार ठूलो संकटमा परेको थियो ।
आफ्नो स्ट्याटसमा उनले प्रश्न उठाएकी छन्, “के साँच्चिकै यही हो हाम्रो जेनजी चाहनारु हाम्रा छोरी–छोराले रगत र मृत्यु होइन, परिवर्तन खोजिरहेका छन्। गगन त यहीका लागि वर्षौंदेखि संघर्षरत छन्। त्यसैले म विश्वास गर्न सक्दिनँ कि हाम्रा बच्चाहरू रगतमा नुहाउने सपना देखिरहेका छन्।”
उनी थप्छिन्, “म विश्वास गर्छु, हाम्रो नयाँ पुस्ताले परिवर्तन चाहेको हो, तर रगतको सागरमा होइन। यो बाटो सही होइन।”
अञ्जनाले हिंसा, आगजनी र सर्वसाधारणलाई जोखिममा पार्ने गतिविधिलाई अस्वीकार गर्दै, आन्दोलन केवल जेन–जी पुस्ताको आवाज मात्रै नभई अन्य शक्तिहरूले समेत प्रभाव पारेको संकेत गरेकी छन् ।