काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सबै सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् ।
राजीनामा दिने सांसदहरूको सूचीमा दलका नेता रवि लामिछाने, सांसदहरू डोल प्रसाद अर्याल, स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, सन्तोष परियार, निशा डाँगी, सुमना श्रेष्ठ, सोबिता गौतम, डा. तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, प्राडा। चन्दा कार्की (भण्डारी) लगायत २० जना सांसदको नाम समावेश छ ।
रास्वपाका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले हस्ताक्षर गरेको विज्ञप्तिमा राजीनामाको निर्णयमा संसदीय दल एकमत भएको उल्लेख गरिएको छ ।
रास्वपा संसदीय दलको तर्फबाट मंगलबार जारी विज्ञप्तिमा सोमबार जेन–जी पुस्ताद्वारा आयोजित शान्तिपूर्ण प्रदर्शनमा सरकारले ‘बर्बर दमन’ गरेको उल्लेख छ । यस घटनाप्रति रास्वपाले घोर भर्त्सना गर्दै तत्काल राजनीतिक समाधानको माग अघि सारेको छ ।