काठमाडौं । हिजो काठमाडौंलगायत देशभर भएको जेनजी पुस्ताको आन्दोलनमा सरकारले दमन गर्दा १९ जनाको मृत्युपछि देशको परिस्थिति भड्किएको छ । देशका अधिकांस स्थानमा लगाइएको कर्फ्युको आदेश तोडेर स्वस्फूर्त आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरुले आन्दोलनको दोस्रो दिन देशैभरी प्रदर्शन, तोडफोड र आगजनी गरिरहेका छन् ।
आन्दोलनकारीहरू टोल टोलबाट निस्किएका छन् भने मुख्य निशाना कांग्रेस, एमाले र माओवादीका मुख्य नेताहरुका साथै मन्त्री र राजनीतिक दलका कार्यालयहरुलाई बनाएका छन् ।
अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास, माओवादी अध्यक्ष केपी शर्मा ओली निजी निवास, हिजै राजिनामा दिएका गृहमन्त्री रमेश लेखक, उर्जामन्त्री दिपक खड्का, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतको निजी निवासमा आगजी गरिसकेका छन् ।
त्यसैगरी प्रदर्शनकारीहरुले नेकपा एमाले र कांग्रेस पार्टी कार्यालयमा आगजनी गरिसकेका छन् । काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरमा विहानैदेखि कर्फ्यु घोषणा भएपछि आन्दोलनकारीले प्रशासनको आदेश अवज्ञा गर्दै ठूला ठूला प्रदर्शन गरेका छन् ।
मध्यान्ह १२ बजेसम्मको अवस्था आँकलन गर्दा अधिकांश ठाउँमा सुरक्षाकर्मीले नियन्त्रण गुमाएका छन् । परिस्थिति नेपाल प्रहरी र सशस्त्र प्रहरीको नियन्त्रण बाहिर गएको छ ।
औपचारिक रूपमा कुनै पनि निकायका अधिकारीले प्रतिक्रिया दिन सकेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका छन् ।
तर, त्यतिन्जेल परिस्थिति सरकारको नियन्त्रणबाट बाहिर गइसक्ने देखिएको छ । काठमाडौंसहित देशका प्रमुख सहरका मुख्य सडक आन्दोलनकारीका कब्जामा छन् ।
दमन गर्दा हिजोको जस्तै मानवीय क्षति हुने भएकाले प्रहरी आफैँ पछि हट्दैछन् । नेपाली सेनाका प्रवक्ताले आफूहरू छलफलमा रहेको बताएका छन् ।
प्रदर्शनका क्रममा शीर्ष नेताहरुमाथि आक्रमण हुन थालेपछि सुरक्षाकर्मीले सुरक्षित स्थानमा राख्न थालेका छन् ।
चारवटै सुरक्षा निकाय परिचालित गरेर शिर्ष नेताहरुलाई सुरक्षित स्थानमा सार्न थाथिएको उच्च सुरक्षा स्रोतले बताएको छ ।
बालुवाटारसहित विभिन्न स्थानमा पटकपटक सैनिक र निजी हेलिकोप्टर अवतरण गरेका छन् । अन्य स्थानमा रहेका नेताहरुलाई समेत सुरक्षित स्थानमा राखिएको एक उच्च अधिकृतले बताए ।
सोमबार जेनजी युवाले गरेको प्रदर्शनका क्रममा प्रहरीले दमन गर्दा १९ जना युवा मारिएका थिए । २ सय बढी घाइते छन् ।
आज पनि भक्तपुर, झापा र काठमाडौंको कलंकीमा गोली चलिसकेको छ । आठ जना गम्भिर घाइते भएको समाचार आइरहेका छन् ।