काठमाडौं । हिजो भएको जेनजी पुस्ताको प्रदर्शनमा भएको निर्मम दमनविरुद्ध आज बिहानैदेखि भइरहेको आन्दोलन क्रममा नेताहरूको घरमा आगजनी र तोडफोड भइरहेको छ ।
आन्दोलनकारीहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा आगजनी गरेका छन् । खुमलटारस्थित दाहाल निवासमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका प्रदर्शनकारीले भर्खरै आगजनी गरेका हुन् ।
प्रदर्शनमा दमन भएपछि हिजै राजीनामा दिएका निर्वतमान गृहमन्त्री तथा काङ्ग्रेस नेता रमेश लेखकको घरमा पनि आक्रमण भएको छ । नैकापस्थित लेखकको घरमा आक्रमण भएको हो ।
यसैगरी, सत्तारुढ नेकपा एमालेका सचिव रघुवीर महासेठको जनपुरस्थित घरमा पनि प्रदर्शनकारीले आक्रमण गरेका छन् ।
प्रदर्शनकारीहरूले सत्तारुढ नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पनि आगजनी गरेका छन् ।
प्रधानमन्त्री तथा नेकपा एमालेअध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा पनि प्रदर्शन भइरहको छ । प्रदर्शनकारीहरुले ओली निवास घेराउ गरेका छन् ।
प्रदर्शनकारीहरुले सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगजनी गरेका छन् ।
त्यसैगरी प्रदर्शनकारीहरुले एमालेको पार्टी कार्यालयमा पनि आगजनी गरेका छन् । बानेश्वर क्षेत्र प्रदर्शनकारीहरुले कब्जा गरिसकेको अवस्था छ ।