काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्ष बन्ने बाटो खोल्दै नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सम्पन्न भएको छ ।
नवौं र १०औं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका उनी पारित विधानअनुसार अब तेस्रो कार्यकालका लागि पनि अध्यक्ष हुने बाटो खुलेको हो । एमालेले विधानमा रहेको ७० वर्षे उमेर हदलाई समेत हटाएका कारण अब ओलीलाई उमेरहदले समेत छेक्दैन ।
शुक्रबारदेखि तीन दिनसम्म चलेको विधान महाधिवेशनले प्रस्तावित विधानसहित सबै प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको छ ।
महाधिवेशनमा ओलीको राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान मस्यौदा र महासचिव शंकर पोखरेलको सांगठनिक प्रस्ताव पारित भएको हो ।
महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले पेस गरेको प्रतिवेदन पनि पारित भएको छ ।
पारित विधानमा ७० वर्षे उमेर हदम्याद हटेको छ । पालिकादेखि केन्द्रसम्म पदाधिकारीमा दुई कार्यकाल रहने व्यवस्था हटाइएको छ ।
यही व्यवस्थाका कारण ओलीलाई तेस्रो कार्यकाल अध्यक्ष हुन अवरोध गरिरहेको थियो । पारित विधानअनुसार दुई कार्यकाल अध्यक्ष र ७४ वर्ष उमेर पुगेका ओली अब सहजै अध्यक्ष हुन पाउनेछन् । राजधानी दैनिकबाट