काठमाडौं । धान बालीको सिजन सकिन थालेपछि बजारमा रासायनिक मल भित्रिन थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को कोटामध्येको रासायनिक मल भित्रिन थालेको हो ।
कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले रासायनिक मल ल्याउन थालेका हुन् । कर्पोरेसनले ११ हजार तीन सय मेट्रिक टन डिएपी र कम्पनीले तीन हजार मेट्रिक टनमध्ये दुई हजार पाँच सय मेट्रिक टन डिएपी भित्रिइसकेको जनाएका छन् ।
भदौ दोस्रो साता बितिसकेकाले अब आउने मल धानबालीका लागि भन्दा पनि हिउँदे बालीका लागि उपयुक्त हुने देखिन्छ । यसपालि बजार मागअनुसार मल आयात हुँदा किसानले धान रोप्ने बेला मलको अभाव खेपेका थिए ।
कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक विष्णुुप्रसाद पोखरेलले थप ६० हजार मेट्रिक टन युरिया पानीजहाजमा लोडिङ भई कोलकाता आउने क्रममा रहेको जानकारी दिए । गोरखापत्रबाट