काठमाडौँ । देशभरका २३ स्थानीय तह असार मसान्तभित्र बजेट पारित गर्न असफल भएका छन् । ११ नगरपालिका र १२ गाउँपालिका गरी २३ स्थानीय तहले बजेट ल्याउन नसकेका हुन् ।
समयमै बजेट प्रस्तुत गर्न असफल नगरपालिकामध्ये हर्क सम्पाङ नेतृत्वको धरान समेत रहेको छ । सामान्यतः हरेक स्थानीय तहले आषाढ १० गतेभित्र नगरसभामा नीति, कार्यक्रम तथा बजेट पेश गर्नुपर्ने कानुनी व्यवस्था छ।
त्यसपछि आषाढ मसान्तभित्र सो बजेट पारित गरिनुपर्ने प्रावधान छ। तर विभिन्न प्रशासनिक र राजनीतिक कारणले गर्दा यी नगरपालिकाहरूले समयमै बजेट प्रस्तुत गर्न नसकेका हुन्।
मधेश प्रदेशका सिराहा नगरपालिका, नगराइन, कमला, हंसपुर, डाक्नेश्वरी, राजविराज, औरही, देवाही गोनाही, फतुवा बिजयपुर र निजगढ नगरपालिकाले समेत बजेट ल्याउन सकेनन्।
नगरपालिका महासङ्घले दिएको जानकारी अनुसार मधेस प्रदेशका कुल ७७ नगरपालिकामध्ये ६७ वटाले मात्र बजेट पेस गरेका छन् । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै नगरपालिकाहरूले समयमै बजेट पेस गरी शतप्रतिशत सफलता हासिल गरेका छन् ।
नेपाल नगरपालिका संघले समयमै बजेट पेश नगरेकोमा चिन्ता व्यक्त गर्दै ती नगरपालिकाहरूलाई यथाशीघ्र नगरसभा सञ्चालन गरेर कानुनी प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।