रसुवा । यही असार २४ गते बिहान ल्हेन्दे खोलामा आएको बाढीले थुनिएको केरुङखोला खोल्ने कार्य अगाडि बढेको छ । खोलामा पानीको बहाव ठूलो मात्रामा प्रवाह भइरहेका कारण चिनियाँ पक्षले शुक्रबारदेखि विस्तारै थुनिएको पानी खोल्न थालेको हो ।
ल्हेन्दे खोलाको बाढीले केरुङतर्फबाट आएको खोलालाई रोकी रसुवागढीस्थित दुई खोला मिसिएको संगमस्थलमा ढुंगा र ठूलाठूला काठदाउरा थुप्रिएर पानी थुनिन गई ताल बनेपछि त्यसलाई क्रमिक रूपमा खोल्न थालिएको हो ।
तत्पश्चात् चीनतर्फ पुरिएका ३० वटा नेपाली कन्टेनर झिक्ने प्रयास भइरहेको सीमा सुरक्षा अधिकारीले जनाएका छन् ।
२३ गते केरुङमा सामान लोड गरी फर्केका ती कन्टेनर निर्धारित समयमा नेपाल पस्न नसक्दा गढीदेखि उत्तरतर्फको केरुङ खोलास्थित किनारको राजमार्गमा राखिएकामा ढुबानमा परेका थिए ।