काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले नयाँ नियम लागू गरेको छ । अध्यागमन कार्यालयले आज एक सूचना जारी गर्दै विशिष्ट (भीआईपी) तथा अति विशिष्ट (भीभीआईपी) व्यक्तिहरूको आगमन तथा प्रस्थान प्रक्रियालाई व्यवस्थित गर्न भन्दै नयाँ नियम लागू भएको जनाएको हो ।
अध्यागमन कार्यालयका अनुसार अबदेखि भीआईपी/भीभीआईपीहरूले अध्यागमन प्रक्रिया पूरा गर्नका लागि अनिवार्य रूपमा स्वयं उपस्थित भएर फोटो खिचाउनुपर्ने भएको छ ।
अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले एक सूचना जारी गर्दै भनेका छन्–‘भीआईपी तथा भीभीआईपी महानुभावहरूको आगमन तथा प्रस्थान प्रक्रियालाई सरल, सहज, शीघ्र एवं सुविधायुक्त बनाउन छुट्टै भीआईपी/भीभीआईपी डेस्कको व्यवस्था गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णमा अवगत गराइन्छ ।’
‘उक्त भीआईपी र भीभीआईपी डेस्क प्रयोग गरी आगमन र प्रस्थान गर्नुहुने महानुभावहरूले (अध्यागमन प्रक्रियामा बायोमेट्रिक लिन नपर्ने गरी कुनै ऐन, कानूनमा उल्लेख भएका बाहेक) अनिवार्य रूपमा अध्यागमन प्रक्रिया (भीआईपीरभीभीआईपी डेस्कमा स्वयं उपस्थित भई फोटो समेत खिचाई) पूरा गरिदिनुहुन सम्पूर्ण महानुभावहरूमा हार्दिक अनुरोध गरिएको छ । सूचनामा थप भनिएको छ।
अध्यागमनको रेकर्डका लागि फोटो अनिवार्य गरिए पनि उनीहरूले बायोमेट्रिक (औँठा छाप) भने दिनु नपर्ने सूचनामा स्पष्ट पारिएको छ।
सूचनामा नेपाल राजपत्रमा उल्लेखित भएकाहरूले मात्र उक्त भीआईपीरभीभीआईपी डेस्कको प्रयोग गरी आफ्नो अध्यागमन प्रक्रियालाई सहज बनाउन अनुरोध गरिएको छ।
यस्तो छ अध्यागमनको सूचना