काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशनको माग गर्दै कांग्रेस केन्द्रीय कार्यालय अगाडि प्रदर्शन भएको छ।
नेविसंघको महाधिवेशन पक्षधर समूहका विद्यार्थीहरूले पार्टी कार्यालय सानेपामा भेला भई प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘म म्यादी नेविसंघ, मेरो अधिवेशन कहिले ?’, ‘म मेरो पार्टीले बन्धक बनाएको नेविसंघ’, ‘म ९ वर्षसम्म अधिवेशन नगराउने लोकतान्त्रिक पार्टीको नेविसंघ’ भन्ने प्लेकार्ड बोकेर असन्तुष्टि जनाए।
उनीहरूले लामो समयदेखि अधिवेशन नहुँदा संगठन कमजोर बनेको भन्दै तत्काल महाधिवेशन गर्न माग गरेका छन्।
यसैबीच हिजोबाट तरुण दलका असन्तुष्ट समूहले आमरण अनशन पनि सुरु गरेको छ ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्नु एक दिन अघिदेखि पार्टी कार्यालय सानेपामा आमरण अनशन सुरु भएको हो ।
सोमबारदेखि आयोजना हुने केन्द्रीय समितिको बैठकमा पार्टीले तदर्थ समितिमा रहेका भ्रातृ संस्थाको लागि एक पटकका लागि पुनः अवधि थप्ने तयारी गरेसँगै आमरण अनसन सुरु भएको हो ।
विद्वान गुरुङको नेतृत्वमा रहेको तदर्थ समिति भंगको माग गर्दै आइतबारदेखि आमरण अनशन सुरु गरिएको छ ।
केन्द्रीय कार्यालयको मूल गेटमा रोजन राई र अम्बिका बाँस्कोटाले आमरण अनशन सुरु गरेका हुन् ।
असन्तुष्ट पक्षले वर्तमान समिति भंग गर्नका लागि ६ बुँदे कारण देखाएको छ । सबै तहको निर्वाचन सकिएको तीन महिना हुँदै गत चैत मसान्तसम्मको अवधिसम्म महाधिवशेन गर्न नसकेको असक्षम रहेको बताइएको छ ।
अध्यक्ष गुरुङले तरुण दलको भवन आफूखुसी भत्काएको, गणेशमान सिंह प्रतिष्ठान भवन निर्माणका लागि छुट्याइएको बजेटको गलत प्रचार गरेको लगायतका कारण देखाइएको छ ।