पर्वत । जिल्लाको फलेवास नगरपालिका–८ नेपानेमा गए राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
लमाएखोलाबाट फलामखानीतर्फ जाँदै गरेको ग१ज ६९७ नम्बरको जीप पल्टिँदा फलेवास–८ ठानामौलाका ३९ वर्षीय डोलबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
प्रहरीका अनुसार जीप सडकबाट झण्डै १५० मिटर तल खसेको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा फलेवास–७ का ३४ वर्षीय विक्रम सुनार र वडा नं ८ ठानामौलाका ३३ वर्षीय सुरज सुनार घाइते भएका छन् ।
घाइते दुवै जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।
यसैबीच, सुनसरीको रामधुनी नगरपालिका–७ चतरा–कान्छी चोक सडकखण्डमा मोटरसाइकल दुर्घटनाहुँदा बाबुछोरासहित तीनको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
गए राति चतरा–कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१–०२–०५६प ५८६४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा बाबुछोरासहित तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ३४ वर्षीय इनर्चन चौधरी, उनका नौ वर्षीय छोरा प्रनिष र अर्का मोटरसाइकल चालक ५१ वर्षीय बिन्दु यादव छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूलाई घाइते अवस्थामा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा इनर्चन चौधरीकी ३२ वर्षीया श्रीमती प्रतीक्षा र बिन्दु यादवसँग सवार इटहरी–७ निवासी ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते भएका छन् । उनीहरूको धरानस्थित प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।