काभ्रे । काभ्रेमा घरको छानाबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको मादी गाउँपालिका-६ घर भई हाल काभ्रेको बनोपा नगरपालिका-१२ बाँसडोल बस्दै आएका ४२ वर्षीय अमृत घर्तीमगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार स्थानीय गोरखा चाइनिज इट्टाभट्टामा काम गर्दै आएका घर्ती सोही भट्टाको जस्ताको छानोमा प्लाष्टिक ओढाउने क्रममा बिहीबार साँझ छानाबाट खसेका थिए।
छानाबाट पानी चुहिन थालेपछि उनी प्लाष्टिक ओढाउन छानामा चढेको बेला घटना भएको हो। छानाबाट खसेर गम्भीर घाइते भएका उनलाई इट्टाभट्टाका म्यानेजर अनिल दुवालले उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा लगेका थिए।
उपचारकै क्रममा गएराति उनलाई डाक्टरले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।