हेटौंडा । बागमती प्रदेशका अर्थमन्त्री कुन्दनराज काफ्लेले आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन् ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री काफ्लेले आइतबार राति प्रस्तुत गरेको बजेट वक्तव्यमा पुँजीगत खर्चमा ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार अर्थात् कुल बजेटको ६१.७४ प्रतिशत विनियोजन गरिएको छ ।
यस्तै चालु खर्चतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार अर्थात् ३८.६ प्रतिशत विनियोजन गरिएको छ । बजेट वक्तव्यमा प्रदेशको आगामी वर्ष खर्च व्यहोर्ने स्रोतमध्ये कर राजस्वबाट २८ अर्ब ८७ करोड ८२ लाख १ हजार र अन्य राजस्वबाट ६ अर्ब ७९ करोड ४ लाख १३ हजार रुपैयाँ अनुमान गरेको छ ।
यस्तै संघीय वित्तीय हस्तान्तरणबाट ४१ अर्ब ८१ करोड ८३ लाख र सञ्चित कोषको विविध प्राप्तिबाट १६ अर्ब ९८ करोड ९४ लाख १३ हजार रुपैयाँ खर्च व्यहोर्ने स्रोत अनुमान गरिएको छ ।