काठमाडौं । खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एकै घरका एकै घरका दाजु-बहिनीको मृत्यु भएको छ ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५, जयनगरमा खाना पकाउने ग्यास लिक भएर आगो लाग्दा पर्शुराम यादवका २४ वर्षीय छोरा शिवकुमार यादव र १८ वर्षीया छोरी सोनम यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
आगोमा जलेर गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेज लगिएको थियो ।
त्यहाँबाट शिवकुमारलाई थप उपचारका लागि भारतको गोरखपुरस्थित मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै ज्यान गएको र सोनमको भैरहवामै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चिकित्सकहरुका अनुसार शिवकुमारको शरीरको ८५ प्रतिशत र सोनमको शरीरको ७५ प्रतिशत भाग जलेको थियो ।
घटनाको प्रारम्भिक अनुसन्धान अनुसार सिलिण्डरमा रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भएको थियो ।
सोही बेला गोठमा बलिरहेको आगोबाट भान्सा कोठामा सल्किएर ठूलो आगलागी भएको प्रहरीले जनाएको छ ।
दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।