काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै कर्मचारीको गल्तीको आधारमा मन्त्रीलाई जिम्मेवार बनाउन नहुने बताएका छन् ।
गृहमन्त्री रमेश लेखकको संलग्नताबारे सार्वजनिक रूपमा प्रश्न उठिरहेको भिजिट भिसा प्रकरणबारे सोमबार एमाले सचिवालय बैठकमा बोल्दै ओलीले यस्तो बताएका हुन् ।
उनले गल्ती गर्ने कर्मचारीले नै सजाय पाउनुपर्ने बताए । ओलीले सम्बन्धित निकायको अनुसन्धानको नतिजा नै मुख्य मान्नुपर्ने स्पष्ट पारे ।
'कुनै कर्मचारीले गल्ती गर्यो भने त्यसलाई सजाय हुन्छ । मन्त्रालयअन्तर्गतको कुनै कर्मचारीले गलत काम गर्यो भने मन्त्री भागीदार हुनु हुँदैन,' बैठकमा ओलीले भनेका थिए,'गल्तीमा राजीनामा दिंदै हिँड्ने हो भने मन्त्रालय नै चल्न सक्दैन ।'
ओलीले गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा संलग्न छन् कि छैनन् भन्ने सम्बन्धमा सम्बन्धित अनुसन्धान निकायले छानबिन गर्ने अधिकार र जिम्मेवारी रहेको बताए । सोसल मिडियाले अनुसन्धान र अभियोजन गर्ने हक नराख्ने एमालेको टिप्पणी छ ।