काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने भिजिट भिसाको सेटिङको पैसा विभिन्न शक्तिकेन्द्रमा पुग्ने गरेको खुलेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको प्रारम्भिक छानविनमा बिचौलियाहरूले विभिन्न शक्तिकेन्द्रमा पैसा बुझाउने गरेको पत्ता लागेको हो ।
अध्यागमनमा केही अधिकृतहरुले अझै पनि सेटिङ गर्दै आएका छन् । तीन कर्मचारीले माथि तहसम्मलाई नियमित पैसा बुझाउने गरेको स्रोत बताउँछ ।
उपसचिव कृष्ण सापकोटा विगतमा गृह मन्त्रालयको प्रशासन शाखा र अध्यागमनमा बसेका कर्मचारी हुन् । ‘अध्यागमनबाट कसरी पैसा आउँछ उपसचिव सापकोटा राम्रोसँग जानकार छन्,’ गृहका एक अधिकारी भन्छन्,‘सापकोटामार्फत भिजिट भिसाको पैसा शक्तिकेन्द्रसम्म पुग्ने गरेको छ ।’
आयोगले गत बुधबार अध्यागमन प्रमुख तिर्थ भट्टराई लगायतलाई नियन्त्रणमा लिई अनुसन्धान थालेपछि दिनमै ५० लाख रुपैयाँसम्म असुली हुने गरेको पत्ता लागेको थियो । सो पैसा संस्थागत रुपमा अध्यागमन विभाग र गृह मन्त्रालय पुग्ने गरेको हो ।
अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाललाई पनि आयोगले निगरानीमा राखेर छानविन गरिरहेका छन् । आफ्ना भतिज लगायतलाई अध्यागमनमा कार्यालयमा खटाएर रिजालले असुली गर्दै आएका थिए ।
त्यस्तै, गृहमन्त्री रमेश लेखकको सचिवालय मात्र नभई कर्मचारी प्रशासन महाशाखा तथा शान्ति सुरक्षा महाशाखाका सहसचिवसम्म यस्तो पैसा पुग्ने गरेको स्रोत बताउँछ ।
आयोगले हाल सहसचिव भट्टराई र केही बिचौलियाको मोबाइल जफत गरेर अनुसन्धान गरिरहेको छ। उनीहरुको मोबाइलबाट यसमा संलग्न नेटवर्क खुल्ने अख्तियारका अधिकारी बताउँछन् ।
- समाचारमा केही बुँदाहरु स्रोतको भरपर्दा पुष्टि हुन नसकेकोले सच्चाइएको छ । (सम्पादक)