काठमाडौं । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ नेपालले पहिलो पटक आयोजना गरेको ‘सगरमाथा संवाद’आजदेखि सुरु भएको छ ।
‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने नारा सहित आजबाट सुरु भएको कार्यक्रम जेठ ४ गतेसम्म सञ्चालन हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादको उद्घाटन गरेका छन्।समारोहमा स्वदेशी र विदेशी गरी ३५० जना भन्दा बढीको सहभागीता छ।
समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गरेकी छन्।

समारोहमा विशिष्ट अतिथिहरूले सम्बोधन गर्ने क्रम जारी छ।
आइतबारसम्म सञ्चालन हुने संवादमा विषयगत एवं समानान्तर सत्रहरू सञ्चालन हुनेछ। सगरमाथा संवादका लागि भारतलगायत विभिन्न देशका मन्त्रीलगायत सहभागी छन्।
कार्यक्रममा १२ देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी छन् । चीन, भारतलगायत मुलुकका उच्च तहका व्यक्तिहरू नेपाल आइसकेका छन् ।
सगरमाथा संवादमा विभिन्न मुलुकका साथै सार्क, बिम्स्टेक, विश्व बैंक, एसियाली विकास बैंकलगायत विकास सहायता संस्था, विश्वविद्यालय, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्थालगायतबाट ६१ विदेशी तथा स्वदेशी सङ्गठन एवं संस्थाले भाग लिने छन्।
संवाद आयोजनाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति, परराष्ट्रमन्त्री डा। देउवाको संयोजकत्व र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको सहसंयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सचिवालय गठन गरिएको छ। संवादमा उच्चस्तरीय उद्घाटन सत्रसहित एक ‘प्लेनरी सेसन’, समानान्तर सत्र तथा केही साइड इभेन्ट पनि हुने तालिका रहेको सचिवालयका सदस्यसचिवसमेत रहनुभएका वन मन्त्रालयका सहसचिव डा। महेश्वर ढकालले जानकारी दिए। तेस्रो तथा अन्तिम दिन विदेशी पाहुनालाई हिमाल देखाउनका लागि पर्वतीय उडानको व्यवस्था मिलाइएको छ भने संवादको काठमाडौं घोषणा जारी गरिने छ।

नेपालले संरक्षणमा गरेको आफ्ना असल अभ्यासबारे विश्वलाई जानकारी गराउन र जलवायु सङ्कट समाधानमा विश्वका असल अभ्यास तथा सामाधानका उपाय सिक्नका लागि संवाद उपयोगीसिद्ध हुने बताइएको छ।
संयुक्त राष्ट्रसङ्घले यो वर्ष २०२५ लाई अन्तरराष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा घोषणा गरेका सन्दर्भमा संवादमा पनि महत्वका साथ हिमालका विषय उठाइनेछन्।
सगरमाथा संवाद एक बहुसरोकारवाला संवाद मञ्च हो, जुन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय महत्त्वका प्रमुख मुद्दाहरूमाथि विचार-विमर्श गर्न समर्पित छ।
यो संवादको नाम विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट राखिएको छ। यसको उद्देश्य मानवताको साझा हित र सामूहिक कल्याणको अवधारणालाई प्रवर्द्धन गर्नु हो। प्रत्येक दुई वर्षमा सगरमाथा संवादको आयोजना गर्ने सरकारले यसअघि नै निर्णय गरेको छ।