काठमाडौँ । दुःख र पापबाट मुक्तिका लागि प्रत्येक वर्ष वैशाख शुक्ल एकादशीमा व्रत गरिन्छ ।
मोहिनी एकादशीका नामले चिनिने यस दिन व्रत गर्नाले मानिस दुःख र पापको मोहजालबाट मुक्त हुने प्रसंग विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
यो एकादशीको माहात्म्य भगवान् श्रीकृष्णले युधिष्ठिरलाई बताएका ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् बताउँछन् ।
वैशाख शुक्ल एकादशीका दिनमा पर्ने मोहिनी एकादशी व्रतका विषयमा त्रेतायुगमा रामचन्द्रले पनि गुरु वशिष्ठसँग प्रश्न गरेको बताइन्छ ।
सीता वियोगका बेला दुःख र कष्ट नाशका लागि भगवान् रामचन्द्र गुरु वशिष्ठसँग जिज्ञासा राखेपछि यसको महत्वबारे उनले प्रस्ट पारेको कथा रामायणलगायत ग्रन्थमा पनि उल्लेख गरिएको छ ।