काठमाडौं । अप्रिल २२ मा भारतको जम्मु कश्मिरस्थित पहलगाममा भएको घटनापछि भारत र पाकिस्ताबीको सम्बन्धमा दरार उत्पन्न भएको छ ।
उक्त घटनापछि भारतको सुरक्षा परिषद्ले पहलगाम आतङ्कवादी हमलाको बारेमा विज्ञप्ति नै जारी गरेर यस निन्दनीय आतङ्कवाद कार्यका दोषी, योजनाकार, यसलाई आर्थिक र अन्य तवरले सघाउ पुर्याउनेहरुलाई जवाफदेही बनाउने र न्यायको कठघरामा उभ्याउने आवश्यकता रहेको बताएको थियो ।
सोही योजना अनुरुप भारतले पाकिस्तामा रहेका आतंकवादीहरुलाई लक्षित गरी आक्रमणको प्रयास गरिरहेको छ ।
जम्मू र कश्मीर मात्रै नभई भारतभर नै कलह भड्काउने उद्देश्यले पहलगाम घटना गराइएको भन्दै भारत सरकारले उक्त योजनाहरु विफल भएको दावी गरिसकेको छ ।
भारतले गएराति पाकिस्तानविरुद्ध गरेको हवाई आक्रमण बारे प्रेस ब्रिफिङमार्फत जानकारी सार्वजनिक गर्दै नौ आतंकवादी लुक्ने ठाउँहरू ध्वस्त पारेको बताएको छ ।
भारतको विदेश मामिला मन्त्रालयका सचिव विक्रम मिश्री, कर्नेल सोफिया कुरेशी र विङ कमाण्डर व्योमिका सिंहले पत्रकार सम्मेलन गरेर आक्रमणको जानकारी दिएका हुन् ।
भारतीय सशस्त्र सेनाले गरेको ‘अपरेशन सिन्दूर’ गएराती भारतीय समय अनुसार बिहान १ः०५ बजेदेखि १ः३० बजेसम्म सञ्चालन गरिएको जानकरी दिइएको छ ।
यस क्रममा आतंककारी लुकेका ठाउँहरूलाई निशाना बनाइएको थियो । भारतीय सेनाले पाकिस्तानी भूमीको १०० किलोमिटर भित्र मिसाइल आक्रमण गरेको र नौ आतंकवादी लुक्ने ठाउँहरू ध्वस्त पारेको बताइएको छ ।
भारतको आक्रमणले पीओकेमा पाँच र पाकिस्तानमा चार आतंकवादी लुकेका ठाउँहरूलाई निशाना बनाएको सो अवसरमा जानकारी दिएको छ ।

यसअघि पत्रकार सम्मेलनमा संसद आक्रमण, मुम्बई आक्रमण, पुलवामा आक्रमण र पहलगाम आक्रमणका दृश्यहरू देखाइएको थियो । सबैभन्दा पहिले, विदेश सचिव विक्रम मिश्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अप्रिल २२ मा पहलगाममा भएको भयानक आतंकवादी हमलाका पीडित नागरिक र उनीहरूका परिवारलाई न्याय प्रदान गर्न अपरेशन सिन्दूर सञ्चालन गरिएको बताए ।
उनले भने–‘नौ स्थानहरू पहिचान गरी नष्ट गरिएको थियो। यी लुक्ने ठाउँहरूमा आतंककारीहरूलाई तालिम दिइएको थियो । यी आतंककारीहरूको लन्च प्याड थिए । विश्वसनीय गुप्तचर जानकारीको आधारमा अपरेशन सिन्दूरको लागि यी लक्ष्यहरू छनोट गरिएको थियो । यसमा आवासीय क्षेत्र र आम नागरिकलाई हानि नपुगोस् भन्ने कुरामा ध्यान दिइएको थियो ।’
सचिव मिश्रीले भने–‘हाम्रा गुप्तचर निकायले यस टिमका लागि काम गर्ने योजनाकार र समर्थकहरुको वास्तविक तस्वीर पनि फेला पारिसकेको छ । यस आक्रमणका विशेषताहरु पाकिस्तानले भारतमा गर्ने सीमापार आतङ्कवादको लामो ट्रयाक रेकर्डसँग पनि सम्बन्धित रहेका छन् जसलाई राम्रोसँग अभिलिखित गरिएको छ र ती प्रश्नभन्दा बाहिर रहेका छन् । विश्वभरका आतङककारीहरुका लागि आश्रयस्थलको रुपमा पाकिस्तान कहलिएको छ र अन्तर्राष्ट्रिय रुपमा प्रतिबन्धित आतङ्ककारीहरु दण्डको डर नबोकी बसिरहेका छन् । यसका साथै यस विषयमा विश्वलाई तथा वित्तीय कार्यवाही कार्यदल जस्ता अन्तर्राष्ट्रिय मञ्चहरुलाई जानाजानी भ्रमित गर्ने कुरामा पाकिस्तान परिचित रहेको छ । यसको सबैभन्दा ज्वलन्त उदाहरण साजिद मीरको मुद्दा हो जसमा उक्त आतङ्ककारीलाई मृत घोषित गरिएको थियो र पछि अन्तर्राष्ट्रिय स्तरबाट दबाब आएपश्चातको प्रतिक्रियामा पुनःजीवित पारिएको थियो र त्यसपछि जीवित फेला पारी पक्राउ गरिएको थियो ।’
आजको आक्रमणबारे बोल्दै सचिव मिश्रीले भने–‘भारतले यस्ता सीमापार आक्रमणहरु विरुद्ध प्रतिक्रिया दिने, पूर्वतयारी गर्ने र यसलाई रोक्ने आफ्नो अधिकारको प्रयोग गरेको छ । यी कार्यहरु आकलित, नभड्किने खालका, आनुपातिक र जिम्मेवारपूर्ण थिए । यी कार्यहरु आतङ्कवादी पूर्वाधारलाई ध्वस्त पार्ने तथा भारत पठाइने सम्भावित आतङ्ककारीहरुलाई निमिट्यान्न पार्ने कुरामा केन्द्रित थिए ।’
पाकिस्तानलाई आतंककारीहरूको लागि सुरक्षित आश्रयस्थलको रूपमा विश्वभर चिनिएको समेत उनले बताए ।
सचिव मिश्रीले भने–‘पहलगाम आक्रमण भारतमा सीमापार आतंकवाद गर्ने पाकिस्तानको लामो ट्र्याक रेकर्डसँग जोडिएको छ । पाकिस्तानलाई आतंककारीहरूको लागि सुरक्षित आश्रयस्थलको रूपमा विश्वभर चिनिएको छ । त्यहाँ आतंककारीहरू सजायबाट सुरक्षित रहन्छन् । साजिद मीरलाई पाकिस्तानले मृत घोषित गरेको थियो, तर अन्तर्राष्ट्रिय दबाबमा उनी जीवितै भेटिए, यो यसको स्पष्ट उदाहरण हो। पहलगाम आक्रमणपछि भारतका सबै राज्यहरूमा आक्रोश देखियो । आक्रमणका अभियुक्त र योजनाकारहरूलाई न्यायको कठघरामा ल्याउनु आवश्यक मानिएको थियो । पाकिस्तानले कारबाही गर्न कुनै देखिने कदम चालेन । भारत विरुद्ध थप आक्रमणको खतरा छ, त्यसैले यसको सामना गर्नु आवश्यक ठानियो ।’
अप्रिल २२, २०२५ मा, लश्कर–ए–तैयबाका पाकिस्तान–प्रशिक्षित आतंककारीहरूले कश्मीरको पहलगाममा पर्यटकहरूमाथि बर्बर आक्रमण गरेको भारतको दावी छ ।
आफूलाई ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) भनी चिनाउने समूहले सो आक्रमणको जिम्मा लिएको छ । यो समूह संयुक्त राष्ट्र संघद्वारा प्रतिबन्धित पाकिस्तानी आतङ्कवादी समूह, लश्कर–ए–तैयबाको लागि काम गर्ने एक मोर्चा हो ।
२५ भारतीय र एक नेपाली नागरिक कायरतापूर्वक मारिएको उक्त घटना मुम्बई आक्रमणपछि आतंकवादी आक्रमणमा सर्वसाधारणको मृत्यु भएको यो सबैभन्दा गम्भीर घटना थियो ।
पहलगाम आक्रमण चरम बर्बरताले भरिएको थियो जसमा धेरै जसो पीडितहरुलाई उनीहरुको परिवारको सामुन्ने र निकै नजिकबाट टाउकोमा गोली हानी हत्या गरिएको थियो ।
हत्यामा अपनाइएको तरिकाले परिवारका सदस्यहरुलाई जानाजान आघात पुर्याइएको थियो, साथै उनीहरुलाई सन्देश बोकी जान भनी उपदेश दिइएको थियो ।
विशेष गरी यो हमला गत वर्ष २३ मिलियन पर्यटकले भ्रमण गरेको रेकर्ड रहेको यस उपत्यकाको अर्थतन्त्रको मुख्य आधार पर्यटनलाई असर गर्ने उद्देश्यले डिजाइन गरिएको भारतको दावी छ ।