काठमाडौं । नेपाल बाल संगठन (बालमन्दिर)को जग्गा हिनामिनामा १७ जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमानसिंहकी दिदी रिता सिंहसमेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो ।
६० करोड ३९ लाख ७७ हजार दुई सय ७१ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको थियो ।
सुरुमा सरकारको दबाबमा मुद्दा नचलाउने प्रक्रिया अघि बढेकोमा महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाउने निर्णय गरेर सरकारी वकिल कार्यालयलाई सोहीअनुसार निर्देशन दिएको थियो । निर्देशनलगत्तै मुद्दा दायर भएको हो ।
तर, कसैलाई पनि पक्राउ नगरी मुद्दा दायर गरिएको छ ।
बालमन्दिरको जग्गा नियम मिचेर बृहस्पति बिद्यासदनलाई लिजमा दिएर संस्थालाई ठगी गरेको भन्दै मुद्दा दायर भएको हो । सिंहसहित तुलसीनारायण श्रेष्ठ, गणेश भक्त श्रेष्ठ, कृष्णशंकर साह, श्याम कुमार आले, सुवास कुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी गुरुङ९कोने०, दिपकराज श्रेष्ठ, प्रवीणराज जोशी, मुरारीनिधि तिवारी, पुरुषोत्तमराज जोशी, श्रद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेविरुद्ध मुद्दा दायर गरिएको छ ।