अछाम । बान्नीगढी जयगढ गाउँपालिकामा हालै भएको विनाशकारी आगलागीका पीडित परिवारलाई माया मेट्रो अस्पताल, धनगढीका अध्यक्ष धिरेन्द्र साउदले राहतस्वरूप नगद १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
अस्पतालका अध्यक्ष साउद स्वयं जयगढ पुगेर गाउँपालिका अध्यक्ष टेकबहादुर साउदलाई औपचारिक रूपमा राहत रकम हस्तान्तरण गरेका हुन् ।
राहत रकम हस्तान्तरण गर्दै अध्यक्ष साउदले आफ्नो जन्मभूमिमा विपत्ति पर्दा चुपचाप बस्न नसकेको बताए । उनले आगामी दिनमा पीडितको स्वास्थ्य उपचार लगायत आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।
साथै अध्यक्ष साउदले पीडितको पुनःस्थापनाका लागि सबैले आ–आफ्नो ठाउँबाट हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याए । मंगलबार साँझ करिब ७ बजे ग्यास सिलिन्डरबाट सल्केको आगोले जयगढ बजारका २३ वटा घर र ती घरमा सञ्चालित ३५ वटा पसल पूर्णरूपमा जलेर नष्ट भएका थिए ।
स्थानीय व्यापारी पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रबाट आगलागी सुरु भएको थियो । आगलागीबाट भौतिक पूर्वाधारबाहेक करिब ८ करोड बराबरको धनमाल क्षति भएको अनुमान गरिएको छ ।
पीडित परिवारलाई तत्काल राहतका लागि सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख उपलब्ध गराउने निर्णय गरिसकेको छ ।