मकवानपुर । मकवानपुरको बकैयामा यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।
मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर –३ चिसापानी बजार स्थित धरान चतरा सडक खण्डमा बस अनियन्त्रित भई पल्टिएको हो ।
सिन्धुलीबाट हेटौँडा तर्फ आउँदै गरेको बा.प्र.०६-००१ ख ०२७० नम्बरको बसमा भिमफेदी गाउँपालिका कृषि तथा पशु शाखाबाट अगुवा कृषक भ्रमणमा रहेका कृषक र प्राविधिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
भ्रमण सकेर फर्किँदै गरेको अवस्थामा गएराति ९ः३० बजेको समयमा चिसापानीबजार स्थित धरान चतरा सडक खण्डमा सिन्धुलीबाट हेटौडा तर्फ आउँदै गरेको घुम्तीमा दुर्घटना भएको उनले बताए । उनका अनुसार दुर्घटनामा बसमा चालक सहित ३१ जना सवार रहेको यात्रु घाइते भएका छन् ।
बासका सहचालक दाहाल प्रहरीको नियन्त्रणमा रहेको छन् भने चालक फरार रहेका छन् । फरार रहेका चालकको खोजी भइरहेको प्रवक्ता अर्यालले बताए ।