काठमाडौं । वनमन्त्री ऐनबहादुर शाही ठकुरीले चैत १५ गतेको आन्दोलनमा जलाइएको जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको निरीक्षण गरेका छन्।
बिहीबार विहान मन्त्री ठकुरी जडिबुटीस्थित प्रशोधन केन्द्र पुगेर जलेर भग्नावशेष भएका भौतिक संरचनाको अवलोकन गरेका हुन् । उनी सँगै काठमाडौँ २ की प्रतिनिधिसभा सदस्य सोबिता गौतम पनि सहभागी रहेकी थिइन् ।
चैत १५ को राजावादी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगो लगाउँदा प्रशोधन केन्द्र भग्नावशेष बनेको छ । गाडीहरू जलेका छन् । करोडौंको क्षति भएको छ ।
प्रशोधन केन्द्रकी महाप्रबन्धक संगीता यादवलगायत पदाधिकारीले आगलागीबाट क्षति भएको भग्नावशेषको अवलोकन गराउँदै क्षतिबारे जानकारी गराएका थिए।
निरीक्षणपछि वनमन्त्री ठकुरीले छिटोभन्दा छिटो सञ्चालनमा लागि गृहकार्य भइरहेको बताए । 'प्राविधिक र विज्ञ राखेर छलफल गरिरहेका छौं। १० करोड भयो भने अस्थायी सञ्चालन हुन्छ भन्ने छ। क्याविनेटमा छलफल भइसकेको छ। चाँडै रकम उपलब्ध हुन्छ,' उनले भने।