Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

वासन्ती छठ पर्वको व्रत र सझियाघाट आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै

वासन्ती छठ पर्वको व्रत र सझियाघाट आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै

बिहिवार , चैत्र २०, २०८१

महोत्तरी । महोत्तरीसहित मधेसका जिल्लाहरूमा हाल वासन्ती छठ पर्वको रौनक छ । बोलीचालीमा चैती छठ भनिने यो पर्वको तेस्रो र मुख्य दिन व्रतालुले आज षष्ठी तिथिका दिन निराहार व्रत सुरु गरेका छन् ।

पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सख्खरको खिर प्रसादस्वरुप खाएपछि निराहार व्रत प्रारम्भ भएको छ।

आज साँझ नै व्रतालुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डालीहरू हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन्। यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिन्छ।

श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँबस्ती भक्तिमय बनेका छन्। जलाशयमा बनाइएका घाटहरू अत्यन्त मनमोहक देखिएका छन्।

व्रतालुले भोलि शुक्रबार सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यसपालिको वासन्ती छठ पर्व विधिवत् समापन हुनेछ। यसअघि गत मङ्गलबार चौथी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका व्रतालुले पञ्चमी तिथिका दिन बुधबार राति नुन नहालेर एकछाक मात्र खाएर ‘खरना’ विधि सम्पन्न गरिसकेका छन्।

मधेसको प्राचीन मिथिला क्षेत्रमा वर्षको दुईपटक छठ मनाइन्छ। कात्तिक शुक्लपक्ष चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई शारदीय भनिन्छ। यसैगरी, चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई वासन्ती वा चैती छठ भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077