काठमाडौं । नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।
बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता भएको सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए। घिसिङले आफूलाई सरकारले गैरकानूनी रूपमा हटाएको भन्दै रिट लिएर बुधबार अपराह्न सर्वोच्च पुगेका थिए।
यद्यपी बु्धबार समय अभाव भएको भन्दै सर्वोच्चले आज मात्रै रिट दर्ता गरेको हो। यसको पेसी शुक्रबारका लागि तोकिएको छ।
घिसिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, मन्त्री दीपक खड्का, सञ्चालक समिति नेपाल विद्युत प्राधिकरण दरबारमार्ग, हितेन्द्रदेव शाक्यविरूद्ध रिट दायर भएको हो।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरी हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।
शाक्यले पनि आफूले सेवा सुविधा पाउनुपर्ने माग गर्दै बुधबार नै सर्वोच्च अदालतमा रिट लिएर पुगेका थिए। तर उनको रिट दर्ता भएको छैन।
उनलाई यसअघिको कार्यकालमा सरकारले पदबाट हटाएर कुलमान घिसिङलाई नियुक्त गरेपछि त्यसको विरुद्धमा उनले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।
तर, उनको अघिल्लो कार्यकालको अवधि नसकियून्जेल चार वर्षसम्म उनको रिटमा सर्वोच्च अदालतले फैसला गरेको थिएन ।
त्यसो हुँदा १ भदौ २०७८ मा आफूले सर्वोच्च अदालतमा हालेको रिट निवेदनको विषय छिट्टै टुंग्याइदिन भन्दै आफूले सर्वोच्च अदालतमा रिट हालेको शाक्यले बताएका छन् ।