चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलोमा कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ ।
बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित भई त्रिशूलीमा खसेको हो । दुर्घटनामा परी सहचालक घाइते छन्।
दुर्घटनामा परी ट्रक चालक रौतहट घर भएका अन्दाजी ३५ वर्षीय रामनारायण यादवको मृत्यु भएको र सहचालक रौतहटकै १९ वर्षीय असुन्द्र कुमार यादव घाइते भएको चितवन प्रहरीले जनाएको छ ।
ट्रक दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जुगेडीको टोली खटिएको थियो। टोलीले चालक र सहचालकलाई उद्धार गरी भरतपुर अस्पताल पठाएको थियो।
चिकित्सकहरुले सहचालकलाई थप उपचारका लागि ७ः५० बजे नयाँ मेडिकल कलेज भरतपुरमा रिफर गरेका थिए भने चालकलाई ८ः२० बजे मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार दुर्घटनाका कारण ट्रक पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।