Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मन्त्री पाण्डे निरीह, बिभागलाई प्रभावमा पारी राज्यलाई अर्बौं ठग्दै मिनी क्यासिनो

मन्त्री पाण्डे निरीह, बिभागलाई प्रभावमा पारी राज्यलाई अर्बौं ठग्दै मिनी क्यासिनो

आइतवार , पौष २१, २०८१

काठमाडौं । भारतसँग सीमा जोडिएका बिभिन्न सहरसहित देशभर करिब ३ दर्जन मिनीक्यासिनो संचालनमा छन् ।

ती मिनी क्यासिनोमध्ये करिब १५ वटा नेपाल सरकारको कानुनलाई चुनौती दिंदै रोयल्टी र नवीकरण शुल्क नबुझाई अदालतको अन्तरिम आदेश(स्टेअर्डर)देखाएर चलिरहेका छन् । यद्यपि पर्यटन विभागका सूचना अधिकारी लीलाधर अवस्थीले भने १४ वटा नियमसंगत र ३ वटा अदालतको अन्तरिम आदेशका भरमा मिनी क्यासिनो संचालनमा रहेको बताएका छन् ।

२०७० देखि नै त्यस्ता मिनी क्यासिनो सर्वोच्च अदालतको स्टेअर्डरका भरमा संचालित छन् । सुरेन्द्रबहादुर सिंह, किशोर सिलवाल र नरेन्द्र साहले संचालन गरेका ती क्यासिनोको मुद्दामा पेशी सारेको सार्यै गरिन्छ । अदालतका कर्मचारीसँग सेटिङ गरी क्यासिनोका संचालकले स्टे अर्डरका भरमा संचालन गरी देशलाई करोडौं करोड राजस्व छली गर्दैआएका छन् ।

बार्षिक रोयल्टीबापत एउटा मिनीक्यासिनोले पर्यटन बिभागमा २ करोड ५० लाख रुपैयाँ बुझाउनुपर्ने कानुनी ब्यवस्था छ । ठूला क्यासिनोले भने बार्षिक ६ करोड ५० लाख रुपैयाँ बुझाउनुपर्ने ब्यवस्था उल्लेख छ । मिनीक्यासिनो दर्ता गर्दा चुक्ता पूँजी १५ करोड र ठूला क्यासिनोले २५ करोड रुपैयाँ देखाउनुपर्ने ब्यवस्था छ । सूचना अधिकारी अवस्थीले हरेक बर्षको आर्थिक ऐनले क्यासिनोको रोयल्टी निर्धारण गर्ने बताए ।

मिनीक्यासिनो संचालन गर्दा चारतारे होटल हुनुपर्ने र ठूलाको पाँचतारे होटल हुनैपर्ने ब्यवस्था गरिएको छ । मिनीक्यासिनोहरुमध्ये सबैभन्दा बढी संख्या भएका र अदालतमा मुद्दा दायर गर्दै स्टेअर्डरको भरमा चलाउने क्यासिनोका डन हुन्, सुरेन्द्रबहादुर सिंह, किशोर सिलवाल र नरेन्द्र साह ।

सिंहको कम्पनी गिल्ट इन्भेष्टमेन्ट प्रालि, सिलवालको रक इन्टरनेशनल प्रालि र नरेन्द्र कलवार साहको सेन्ट्रल मिडिया प्रालि मार्फत् संचालित क्यासिनो अन्तरिम आदेशका भरमा राज्यलाई चुनौती दिंदै अदालतमा सेटिङ गरी संचालित छन् ।

मिनिक्यासिनो सञ्चालक सिंह उनै व्यक्ति हुन्, जसलाई सम्पत्ति सुद्दिकरण अनुसन्धान विभागले करोडौं अवैध सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा चलाएको थियो । सिंहको पछिल्लो धन्दा क्यासिनोबाट आर्जित अबैध रकम मिटरब्याजमा लगानी गर्नु रहेको छ ।

ठूला क्यासिनोले लाइभ गेम खेलाउँदैआएका छन् । कानुनतः उनीहरुले लाइभ गेम खेलाउन पाउँछन् । मिनी क्यासिनोले लाइभ खेलाउन पाउँदैनन् । तर सबै मिनी क्यासिनोले लाइभ गेम संचालन गर्दैआएका छन् ।

पर्यटन विभागको अनुगमन नहुँदा मिनीक्यासिनोले पनि गैरकानुनी रुपमा लाइभ गेम खेलाउँदैआएका छन् । मिनी क्यासिनोलाई पनि ठूला क्यासिनोको जस्तै सबै सुविधा दिएका कारण देशभर त्यस्ता क्यासिनोको संख्या बढ्दै गएको छ ।

मिनीक्यासिनोले पर्यटन विभागका महानिर्देशक डा. नारायण रेग्मीलाई समेत मासिक दररेट अनुसार घुस बुझाएर कानुनबिपरीत लाइभ गेम खेलाउँदैआएको स्रोत बताउँछ ।

यसअघिका महानिर्देशक रुद्रप्रसाद पण्डितले त खुल्लम खुल्ला क्यासिनोबाट करोडौं उठाएको आरोप लागेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले कार्यभार सम्हालेको एक महिनामै उनलाई हटाएर रेग्मीलाई ल्याएका थिए । तर मन्त्री पाण्डेको सोझोपनको लाभ उठाउँदै सुधारका लागि भनेर पठाइएका रेग्मीले पनि पण्डितकै शैलीमा क्यासिनोबाट रकम असुली गरी राजस्व छलीलाई मलजल पुर्याउँदैआएका छन् ।

मिनीक्यासिनोले मासिक २ लाखका दरले बिभागमा घुसबापत बुझाएर लाइभ गेम खेलाउँदैआएको स्रोतको दाबी छ । स्रोतका अनुसार पर्वतारोहण, होटल तथा अनुगमन शाखाका प्रमुख मार्फत् डीजीलाई मासिक घुस बुझाएर मिनीक्यासिनोले लाइभ गेम खेलाउने गरेका छन् ।

यसरी प्रत्येक मिनी क्यासिनोले मासिक रुपमा घुस बुझाएकै भरमा राज्यलाई मासिक ४ करोड नोक्सान पुर्याउँदैआएका छन् । यो तथ्यांक अनुसार मिनी क्यासिनोहरुले ठूलो क्यासिनोको सुबिधा प्रयोग गरी राज्यलाई बार्षिक १ अर्बभन्दा बढी नोक्सान पुर्याउँदैआएको एक पाँचतारे होटलका क्यासिनो संचालक दाबी गर्छन् ।

मिनी क्यासिनोहरुले यस्तो ब्रम्हलुट गर्दा पनि पर्यटन मन्त्री पाण्डेको चेत खुलेको छैन । ठूला क्यासिनोमा नेपाली प्रवेश गरेका समाचार त बारम्बार आई नै रहेका छन् । बीरगञ्जको किङ्स क्यासिनोमा नेपाली प्रवेश गरेको बिषयमा झडप भएको भिडियो नै बाहिर आएको थियो ।

कतिपय मिनीक्यासिनोले त एउटै लाइसेन्समा २ वटा क्यासिनो संचालन गर्दा पनि बिभाग मौन रहँदैआएको छ । तर बिभागका डीजीदेखि मन्त्रीसम्म मौन छन् । क्यासिनो संचालकको घुसको प्रभावमा परी उनीहरुले यस्तो लुट मच्चाउन छुट दिएको आरोप छ ।

पर्यटन विभागका सूचना अधिकारी अवस्थीले आफू भर्खरै बिभागमा आएको हुँदा एकीन तथ्यांक दिन समय लाग्ने बताए । आधुनिक मेसिन तथा उपकरणमार्फत् क्यासिनोमा जुवा खेलाउन अनुमति दिएको उनले बताए ।

विभागका होटल शाखा प्रमुखदेखि महानिर्देशकसम्मलाई आर्थिक प्रभावमा पारी मिनीक्याासिनोले अनुमतिविना लाइभ गेम खेलाउँदैआएकोबारेमा उनले भने–‘म सूचना अधिकारीमात्र हो, अरु जानकारी पर्यटन मन्त्रालयका प्रवक्तालाई सोध्नुस् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077